जनकपुरमा रामजानकी विवाह महोत्सवको रौनक,आज तिलकोत्सव

मंसिर १३,२०७६

-

मंसिर १३,२०७६ काठमाडौं ।
विवाह पञ्चमीको अवसरमा जनकपुरमा आयोजित रामजानकी विवाह महोत्सवको चौथो दिन शुक्रबार तिलकोत्सव समारोहको आयोजना हुँदैछ । 
 
राष्ट्रपति विद्यादेवी भण्डारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र भूमि व्यवस्था मन्त्री पद्यमा अर्याल तिलकोत्सव समारोहमा सहभागी हुने महोत्सव आयोजना मूल समितिका संयोजक रामरोशन दासले बताए । 
 
त्यस्तै, भारतबाट विश्व हिन्दु परिषद्का महामन्त्री राजेन्द्र सिंह ‘पंकज’ को नेतृत्वमा करिब साढे दुई सय जना साधुसन्त जनतीको रुपमा आएका छन् । 
 
तीमध्ये ५० जना उच्च ओहोदाका सन्त महन्त रहेको दासले जानकारी दिए । उनका अनुसार अयोध्याका महन्त कन्हैया दास मर्यादा पुरुषोत्तम रामका पिता दशरथको भूमिकामा तथा डा. रामेश्वर दास रामका पितासमान गुरु वशिष्ठको भूमिकामा जन्तीमा सहभागी छन् । 
 
के हुन्छ तिलकोत्सवमा?
रामजानकी विवाह महोत्सवको अवसरमा आयोजना गरिने सात दिने विभिन्न महत्वपूर्ण समारोहमध्ये एक हो तिलकोत्सव समारोह । यो जानकी मन्दिर नजिकै रहेको राम मन्दिर परिसरमा आयोजना हुनेछ । 
 
तिलकोत्सवका लागि जानकी मन्दिरबाट पाँच सय ५१ थान भार (अनेक प्रकारका फलफल, मिठाइ, खाद्यान्न, लुगा, श्रृंगारका सामान लगायत टोकरी) राम मन्दिरमा लगिन्छ । 
 
साधुसन्त तथा श्रद्धालुले एकसाथ त्यतिधेरै कोसेलीका सामाग्री लिएर जानकी मन्दिरबाट निस्किदा सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति हुन्छ । 
बाजागाजासहितको उक्त टोलीको कमाण्ड जानकी मन्दिरका महन्त रामतपेश्वर दासले गरेको हुन्छ । राम मन्दिरका महन्त राम दासले उनीहरुलाई स्वागत गर्छन् । 
 
त्यहाँ स्थानीय श्रद्धालु महिलाहरुले छोराको विवाहका लागि जस्तै लोक गीत गाएर केटी पक्षबाट आउनेहरुलाई स्वागत गर्छन् । मजाकको शैलीमा उनीहरुको गालामा दही लगाइदिने, अबीर दल्ने तथा गालीयुक्त स्वागत गीत गाउने चलन छ ।
 
मधेशतिर विवाहको बेला केटी पक्षले जन्तीलाई र केटा पक्षले तिलकोत्सवमा आउने अतिथिलाई विभिन्न गाली मिसिएको गीत गाउने चलन रहेछ । 
 
यसवर्ष राष्ट्रपतिदेखि विश्व हिन्दु परिषद्का महामन्त्रीसमेत अनेकौ भीभीआईपीहरुको उपस्थिति हुने हुँदा तिलकोत्सव समारोह थप भव्य हुने अनुमान गरिएको छ । 
 
यो समारोहको मुख्य आकर्षण सम्धी मिलन हो । यसअघि सीता ९जानकी० का पिता जनकको भूमिकामा जानकी मन्दिरका महन्त रामतपेश्वर दास र रामका पिता दशरथको भूमिकामा जनकपुरस्थित राम मन्दिरका महन्त राम दासले सम्धी मिलन गर्थे । यसवर्ष अयोध्याका महन्त कन्हैया दासले दशरथको भूमिका निर्वाह गर्ने जनाइएको छ । 
 
चार हजार सुरक्षाकर्मी परिचालन
रामजानकी विवाह महोत्सवमा सहभागी हुने भीभीआईपी तथा श्रद्धालुको सुरक्षाका लागि पाँचजना एसपी र १३ जना डीएसपीको कमाण्डमा चार हजार सुरक्षाकर्मी परिचालन गरिरहेको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिए ।
 
यो महोत्सवमा भारतबाट जनतीको रुपमा हिन्दु परिषद्का पदाधिकारी तथा अन्य भिआइपीहरु समेत आएको हुँदा सीमा क्षेत्रमा दुवै मुलुकका सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
 
 विष्फोटक पदार्थ नियन्त्रणका लागि तालिम प्राप्त कुकुरसहितको सुरक्षा टोली भारतीय सीमा क्षेत्रमा परिचालन गरेको एसपी खनालले जानकारी दिए । 
त्यस्तै, जनकपुरमा मेलाको रुपमा जम्मा हुने हजारौको भिडमा चोरी तथा लुटपाट हुन सक्ने घटना नियन्त्रणका लागि पनि जिल्ला प्रहरी कार्यालयले प्रभावकारी योजना बनाएर कार्यान्वयनमा लागेको छ । 
 
यसका लागि विभिन्न चोक तथा सार्वजनिक स्थानमा एक सय थान सिसिटिभी क्यामेरा जडान गरिएको छ । यस बाहेक १२ वटा समूह बनाएर सादा पोशाकको सुरक्षाकर्मी पनि परिचालन गरिएको उनले जानकारी दिए । 
 
रातिको समयमा पनि सुरक्षा चुनौति आउने सक्ने तथा विभिन्न अपराधिक घटना हुनसक्ने सम्भावित परिस्थितिलाई नियन्त्रण गर्न सुरक्षाकर्मीहरुलाई रात्रीबासका लागि पनि नगरभर छरिएर बस्नेगरी व्यवस्था मिलाइएको छ । 
 
सुरक्षाकर्मी बस्न जनकपुर नगर क्षेत्रभित्र रहेका ११ वटा सामुदायिक विद्यालयमा व्यवस्था मिलाइएको उनले बताए । यी बाहेक धर्मशाला तथा मठ मन्दिरहरुमा पनि सुरक्षाकर्मी तैनाथ रहनेछन् ।