कोरला नाका खोल्न नेपाललाई चौतर्फी दवाव, तुरुन्त खोल्न माग

मंसिर १७,२०७६

-

आस्थान्युज बिशेष रिपोर्ट –
काठमाडौं । केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा सबैले एउटा बिषय आसा गरेका थिए, ‘उत्तर तर्फका नाकाहरु खुल्छन् भनेर ।’ त्यो बेला ओलीले निकै प्रयास पनि गरे । चार बर्ष अघि कोरला नाका खोल्ने निकै चर्चा छायो । २०७२ साल बैशाखको भुकम्प लगत्तै भारतले नाकावन्दी लगाएपछि चीन तर्फका नाका खोल्न नेपालले तदारुकता देखाएको थियो । उत्तर तर्फका बिभिन्न नाकाहरु अबलोकन गरिए । विकास समितिका तत्कालिन अध्यक्ष रविन्द्र अधिकारी उत्तर तर्फका नाका खुलाउन निकै सक्रिय बने । त्यहि बर्ष उनले मुस्ताङ स्थित कोरला नाकाको भ्रमण गरे । लगत्तै केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि झन बढि नाका खोल्ने चासो बढ्दै गयो । 
 तर, चार बर्ष वितिसक्दा पनि नाका खोल्न नेपालले कुनै गृहकार्य गर्न सकेको छैन । चीनले भने नेपालको त्यतिबेलाको सक्रियता देखेर सडक, क्यारेन्टाइन चेकपोष्ट, सुरक्षापोष्टहरु लगायत बिभिन्न भौतिक संरचना बनाइसकेको छ । नेपालतिर अझै सुनसान छ । कालीगण्डकी करिडोर अन्र्तगतको कोरला पुग्ने सडक पनि अझै बन्न सकेको छैन । नेपालको सक्रियता फेरि सुस्ताएको छ ।
 ओली पहिलो पटक प्रधानमन्त्री भएपछि कोरला नाका खोल्ने बिषयले प्राथमिकता पाएको थियो । त्यो बेला नाका सुरक्षार्थ नेपाली सेना चराङ स्थित फाँटमा बस्ने निर्णय भएर जग्गा छनौट कार्य सम्पन्न भएको थियो । जुन लोमान्थाङ बजार नजिकै पर्छ । सिमानामा शशस्त्र प्रहरी राख्ने, भन्सारलाई अझै विस्तार गर्ने, सुख्खा बन्दरगाहलाई तुरुन्त संचालनमा ल्याउने लगायतका निर्णयहरु त्यतिबेला गरिएका थिए । तर, अझै यी कामहरुले निरन्तरता नपाउँदा धेरैलाई निराश बनाएको छ । सरकारले त्यो वेला देखाएको सक्रियताले स्थानीयहरु निकै उत्साहित बनेका थिए । 
  कोरलाको चीन तर्फका अधिकारीहरु नेपालको ढिलाईप्रति अचम्मित छन् । ‘नेपालले शुरुमा देखाएको सक्रियताले हामीले धेरै तयारी गरिसक्यौं, तर नेपालले अझै केहि निर्माण गर्न नसकेकोमा अचम्म लागेको छ, सिमानाका चिनिया सुरक्षाअधिकारीको भनाई उद्धृत गर्दे उपल्लो मुस्ताङका एक स्थानीयले आस्थान्युजसंग भने,चीनले कोरला नाका खोल्न नेपाललाई सहयोग गर्न तत्पर देखिन्छ ।’ नेपाल सरकारले चीन सरकारसंग बार्ता गरेर कोरला नाका खोल्न तुरुन्त शुरु गर्नुपर्ने उनले वताए ।  
 त्यसैगरि, सिमाना सुरक्षार्थ नेपालले शशस्त्र प्रहरी सीमा क्षेत्रमा राख्ने बल्ल तयारी थालेको स्रोतले जनायो । मुस्ताङस्थित चिनीयाँ सिमा कोरला नाकामा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ (बिओपी) स्थापना गर्ने तयारी थालिएको सुरक्षा अधिकारीले जानकारी दिए । कोरला नाकाको सीमा सुरक्षाका लागि लोमान्थाङ गाउँपालिका–१ नेचुङमा बिओपी स्थापना गर्न लागिएको हो । जिल्ला सुरक्षा समितिको केहि दिन अघि बसेको बैठकले मङ्सिर भित्रै नेचुङमा बिओपी स्थापना गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए ।  रासस समाचार एजेन्सीका अनुसार, प्रहरी निरीक्षकको नेतृत्वमा ३५ सशस्त्र प्रहरीको टोली खटिनेछ । स्थायी पूर्वाधार तयार नहुँदासम्म सशस्त्र प्रहरीको टोली नेचुङ भन्सार कार्यालयको भवनमा बस्नेछन् । बिओपीको भवन निर्माणका लागि ३३ रोपनी जग्गा व्यवस्थापन गरेर भवन निर्माणका लागि बजेट विनियोजन भएको छ । 
  भवन मर्मत गर्न लोमान्थाङ गाउँपालिकाले रु १५ लाख विनियोजन गरेको छ । हाल नेचुङमा नेपाल प्रहरीको सीमा प्रहरी चौकी छ । सशस्त्र प्रहरीको बिओपी स्थापना भएपछि कोरला नाका सञ्चालनका लागि सुरक्षाको वातावरण निर्माण हुने सांसद प्रेमप्रसाद तुलाचनले बताए । 
  कोरला नाकादेखि २६ किलोमिटर नेपालतर्फ पर्ने लोमान्थाङमा १ हजार २ सय १७ रोपनी जग्गा व्यवस्थापन गरेर गत वर्ष नेपाली सेनाको क्याम्प राखिएको थियो । नाका सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको क्याम्प अहिलेसम्म सदरमुकाम जोमसोममै छ । 
  सांसद तुलाचनका अनुसार कोरला नाकाको दशगजा नजिकै नेपालतर्फ क्वारेन्टाइन भवन निर्माण गर्न एक हजार रोपनी जग्गाको व्यवस्थापन गरिएको छ । भवन निर्माणका लागि सम्बद्ध मन्त्रालयमा पहल गरिएको सांसद तुलाचनले बताए । 
  कोरला नाका सञ्चालनका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा सम्झौता भएको थियो । विसं २०३२ मा शुरु भएको कोरला नाका खम्पा विद्रोहपछि चिनियाँ पक्षले बन्द गरेको थियो । हाल वर्षमा दुई पटक व्यापार मेलाको समयमा मात्र नाका खुल्ने गरेको छ ।
 कोरला नाका जोड्ने १८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिका लागि २०७३ देखि ११ वटा प्याकेजमा आयोजना सञ्चालन भएको छ । सडक विस्तार, कालोपत्रे र मोटरेबल पुल निर्माणको काम भइरहेको छ । जम्मा ११ प्याकेज मध्ये १८ किलोमिटर दूरीको छोसेर–कोरलाखण्डको सडक स्तरोन्नतिको काम मात्र सकिएको छ । तर, निर्माण कार्य निकै सुस्त देखिएको स्थानीयले गुनासो गरेका छन् । 
 सडक निर्माणमा सुस्तता मात्र होइन, कोरलाको फाँटमा निर्माण गर्ने भनिएका संरचनाको कुनै तयारी थालिएको छैन । यहाँ बिशाल फाँट छ । यो फाँटलाई नेपालले उपयोग गर्न सके नेपाल–चीन ब्यापारिक केन्द्र बन्ने संभावना रहेको यहाँका जानकारहरु बताउँछन् । कोरला नाका मध्य नेपालको सबैभन्दा नजिक र महत्वपुर्ण नाका हो । कोरलाबाट कालीगण्डकी करिडोर सडक सोझै नबलपरासीको गैंडाकोट हुँदै लुम्वीनीको सुनौलीसम्म जोडिनेछ ।