अलैँची बिक्रीबाट चार करोड पाँच लाख बढी रकम लमजुङ भित्रियो

पौष ०८,२०७६

-

पुस ८,२०७६  काठमाडौं।
अलैँचीको ‘हब’ बन्दै गरेको पहाडी जिल्ला लमजुङमा कृषकहरुले अलैँची दाना बिक्रीबाट गत वर्षभन्दा यो वर्ष झण्डै दोब्बर आम्दानी गरेका छन् ।
 
जिल्लामा उत्पादित दुई हजार क्वीन्टल अलैँची  बिक्रीबाट  कृषकले  राम्रो आम्दानी गरेका हुन् ।
 
जिल्लाका कृषकले गत वर्षभदा यो वर्ष चार करोड पाँच लाख रुपैयाँ भन्दा बढी आम्दानी गरेका छन् । 
 
गत वर्ष उत्पादित ७ सय ५० क्वीन्टल बिक्रीबाट कृषहरुले पाँच करोड २५ लाख रुपैयाँ आम्दानी गरेका थिए ।
 
कृषकले १३ करोडसम्म आम्दानी लिएका थिए । त्यस्तै आर्थिक वर्ष २०७३÷७४ मा उत्पादित ६ सय क्वीन्टल बिक्रीबाट चार करोड ४८ लाख रुपैयाँ आम्दानी भएको थियो । 
 
जिल्लामा यो वर्ष दोर्दी गाउँपालिका–८ खिम्चोकका कृषक मनबहादुर तामाङले सबैभन्दा बढि ८ क्वीन्टल अलैँची उत्पादन गरेका थिए । 
 
केही वर्षअघि अलैँची व्यवसायमा हौसिएका कृषकले विस्तारै राम्रो आम्दानी गर्न नसकेपछि निराश बन्दै गएका बेला यो वर्ष राम्रो आम्दानी भएपछि केही आशा जागेको उनले बताए ।
 
उत्पादन बढ्दा आम्दानीसमेत वृद्धि भएको नेपाल अलैँची व्यवसायी महासङ्घ गण्डकी प्रदेश संयोजक अध्यक्ष अजय तामाङले जानकारी दिए ।
 
जिल्लाका किसानले कुनै बेला प्रतिकिलो दुई हजार २ सय रुपैयाँसम्म अलैँची दाना बिक्री गरेका थिए ।
 
तर त्यसयता सो रकमको आधा मूल्यसमेत पाउन सकेका छैनन् । यस वर्ष प्रतिकिलो ६ सय रुपैयाँका दरले अलैँची बिक्री गरेका छन् । 
 
अलैँची कृषकले कम्तीमा पनि प्रतिकिलो एक हजार रुपैयाँ हुनुपर्ने माग गर्दै आए पनि कम मूल्यमै अलैँची  बिक्री गर्न बाध्य हुँदै आएको गुनासो गरेका छन् ।
 
जिल्लामा एक हजार ५० हेक्टर क्षेत्रफल जमीनमा अलैँची खेती गरिँदै आए पनि ६ सय ५० हेक्टर क्षेत्रफल जमीनमा अलैँची उत्पादन हुँदै आएको छ ।
 
जिल्लामा एक नगरपालिका र चार गाउँपालिकालाई अलैँची जोन क्षेत्रसमेत घोषणा गरिएको छ ।
 
बेँसीशहर नगरपालिका, दोर्दी गाउँपालिका, क्व्होलासोथर गाउँपालिका, मस्र्याङ्दी गाउँपालिका र दूधपोखरी गाउँपालिका अलैँची जोन क्षेत्र रहेका छन् । रासस