ए डिभिजन लिगः एनआरटीको तेस्रो जित, पुलिस १-० ले पराजित

पौष २८,२०७६

-

पुस २८,२०७६ काठमाडौं ।
 
सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले तेस्रो जित निकालेको छ । विभागीय टिम नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै न्युरोड टिम लिगको छैटौं स्थानमा उक्लिएको छ ।
 
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनआरटीलाई जिताउन दर्शन गुरुङको एकमात्र गोल निर्णायक बन्यो । खेलको ३७ औं मिनेटमा पुलिसका सुमन लामाले डिबक्स भित्रबाट प्रहार गरेको बल एनआरटीका गोलरक्षक अजित प्रजापतिले बचाए ।
 
४८ औं मिनेटमा पुलिसका मानबहादुर परियारको हेड बल एनआरटीका मिडफिल्डर एरिक बिष्टले गोललाइनबाट क्लिएर गरेका थिए । यस्तै खेलको अतिरिक्त समयमा पुलिसका अन्जन राईले डिबक्स बाहिरबाट गरेको लामो प्रहार क्रसबारमा लागेर फर्किदा पुलिस बराबरी गर्नबाट चुक्यो ।
 
पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ७६ औं मिनेटमा दर्शनले गोल गर्दै टिमलाइ अग्रता दिलाए । उनले डिबक्स भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।
 
७८ औं मिनेटमा राजेश परियारले डिबक्स भित्रबाट हानेको कडा प्रहार पुलिसका गोलरक्षक शत्रुधन चौधरीले बचाउ गरे ।
 
जितसँगै एनआरटी लिगको छैटौं स्थानमा उक्लिएको छ । लिगमा एनआरटीको यो तेस्रो जित हो । एनआरटीले ६ खेलमा ८ अंक जोडेको छ । पुलिसको यो दोस्रो हार हो । पुलिस ६ खेलमा ८ अंकसहित सातौं स्थानमा झरेको छ ।