विश्व बरियतामा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल ११औँ स्थानमा

पौष २९,२०७६

-

पुस २९,२०७६ काठमाडौं ।
नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्व बरियतामा ११औँ स्थानमा परेका छन्। विश्व ब्याडमिन्टन महासङ्घले सार्वजनिक गरेको विश्व बरियतामा प्रिन्स ११औँ स्थानमा उक्लिएका हुन् ।
 
एकसाता अघि प्रिन्स विश्व बरियतामा १४औँ स्थानमा थिए । विश्व ब्याडमिन्टन महासङ्घले प्रत्येक साता सिनियरतर्फ तथा यु-१९ जुनियर खेलाडीको बरियता निर्धारण गर्नेगर्छ । प्रिन्सले प्राप्त गरेको बरियता हालसम्म ब्याडमिन्टनमा नेपाली खेलाडीले हासिल गरेको उत्कृष्ट नतिजा हो ।
 
हालै सम्पन्न प्रेसिडेण्ट कप इन्टरनेशनल प्रतियोगितामा प्रिन्स यु-१९ को फाइनलमा भारतीय खेलाडी मिराव लुवाङसँग १६-२१, २३-२१ र १५-२१ अङ्कले पराजित भएका थिए । भारतीय खेलाडी लुवाङ विश्व बरियताको तेस्रो स्थानमा छन् । 
 
दुई साताअघि प्रिन्स विश्व बरियताको ३२औँ स्थानमा थिए । गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई)मा सम्पन्न दुबई इन्टरनेशनल सिरिजको उपाधि जितेपछि उनको बरियतामा उल्लेख्य सुधार भएको हो । 
 
ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा फ्रान्सका क्रिस्टो पोपोभ शीर्ष स्थानमा छन् भने चीनका लिउ लियाङ बरियताको दोस्रो स्थानमा छन् ।