कास्कीमा एक महिलाले जन्माईन चम्ल्याहा शिशु

माघ ०२,२०७६

-

माघ २,२०७६ काठमाडौं ।
पोखराको मनिपाल शिक्षण अस्पतालमा बिहीबार चम्ल्याहा शिशुको जन्म भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ की २६ वर्षीया सुनीता पौडेल प्रधानले ३ छोरी र १ छोरालाई जन्म दिएकी हुन् । चारैजना शिशु र आमाको स्वास्थ्य ठीक रहेको अस्पतालले जनाएको छ ।
 
डा महेन्द्र पाण्डेको नेतृत्वमा शल्यक्रियामार्फत चार बच्चाको जन्म दिइएको हो । डा पाण्डेका अनुसार पहिलो बच्चा छोरी डेढ केजीकीलाई ९ बजेर ४९ मिनेटमा निकालिएको थियो । त्यसपछि दोस्रो बच्चा छोरा १.३ केजी, तेस्रो र चौथो बच्चा छोरीहरु १.३ र १.४ केजीका लाई ९ बजेर ५० मिनेटमा निकालिएको हो ।
 
पाण्डे नेतृत्वमा ७ चिकित्सक र स्वास्थ्यकर्मीको पहलमा करिब ४० मिनेट लगाएर शल्यक्रियामार्फत बच्चाको जन्म गराइएको हो । ‘भिडियो एक्सरे गर्दा तीनवटा बच्चामात्रै देखिएको थियो’ पाण्डेले भने, ‘तर शल्यक्रिया गर्दा चारवटा भेटिए ।’ पाण्डेका अनुसार प्रति ८ लाखमा एकजनाले चम्ल्याहा जन्माउने गर्छन् ।
सुनीताको यो दोस्रो गर्भ थियो । ३४ साता ४ दिनमा उनले चार सन्तान जन्माएकी हुन् । उनको ५ वर्षीय एक छोरा छन् । गत आइतबार उनी प्रसूतिका लागि मनिपाल भर्ना भएकी थिइन् । रासस