प्रदेश २ का छात्रालाई सरकारले मासिक पाँच सय रुपैयाँ प्रोत्साहन भत्ता दिने

माघ ०२,२०७६

-

माघ २,२०७६ काठमाडौं ।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश भित्र सञ्चालित रहेका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई मासिक पाँच सय रुपैयाँ प्रोत्साहन भत्ता दिने बताउनुभएको छ । 
 
प्रदेश नं २, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहिबार वीरगञ्जमा गरेको ‘छोरी शिक्षा बीमा सप्ताह शिविर’ उद्घाटन प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि सामुदायिक विद्यालयको कक्षा १ देखि ८ सम्मका छात्रालाई  पाँच सय रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराउने तयारी गरेको जानकारी दिनुभएको हो ।
 
 
मुख्यमन्त्री राउतले विद्यालयमा छात्रालाई टिकाइ राख्न यो योजना प्रदेश सरकारले शुरु गर्न लागेको स्पष्ट गर्दै छोरीलाई २० वर्षभित्र रु २० लाख उपलब्ध गराउने सोचका साथ प्रदेश सरकार अगाडि बढिरहेको बताउनुभयो । 
 
उहाँले प्रदेश सरकारले थालनी गरेको ‘बेटी पढाइ, बेटी बचाइ’ कार्यक्रमअन्तर्गत एक लाखको बीमा रकमलाई २० लाखसम्म पु¥याउने सोचका साथ प्रदेश सरकार अघि बढिरहेको जानकारी दिनुभयो । 
 
मुख्यमन्त्री राउतले छोरी शिक्षाको बीमा रकमलाई वृद्धि गर्न प्रदेशभित्र रहेका स्थानीय तहका प्रमुख तथा अन्य दातृनिकायसँग कुराकानी अगाडि बढाएको उल्लेख गर्नुभयो । 
 
 
वीरगञ्जको विर्तामा सञ्चालित श्री त्रिजुद्ध माविको सभाकक्षमा आजदेखि शुरु भएको सप्ताहव्यापी बीमा शिविर माघ ९ गतेसम्म सञ्चालन हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 
 
विसं २०७५ माघ १ गते यता जन्मिएकी छोरीको बीमा गर्न छुट भएकालाई शिविर सञ्चालन गरिएको बताइएको छ ।