रसुवा भन्सार कार्यालयबाट ६ महिनामा सात अर्ब राजश्व सङ्कलन

माघ ०२,२०७६

-

माघ २,२०७६ काठमाडौं ।
चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म छ महिनामा रसुवा भन्सार कार्यालयबाट सात अर्ब ३३ करोड राजश्व सङ्कलन भएको छ ।
 
दैनिक सरदर रु तीन करोड राजश्व सङ्कलन हुने गर्छ ।
 
रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार गत आवको शुरुको छ महिनामा भने रु पाँच अर्ब ६२ करोड राजश्व सङ्कलन भएको थियो । 
 
उत्तरी नाका रसुवागढी हुँदै जुत्ता, चप्पल, थर्मस, इलेक्ट्रोनिक सामान, कम्बल, विद्युत् निर्माणका सामग्री, कपडा, खेलौना, तयारी पोशाक, जिम्बू, जस्ता विविध  सामग्री  आयात हुने गरेको र यी सामग्रीको मूल्याङ्कनबाट उक्त राजश्व सङ्कलन भएको बताइएको छ ।
       
छिटोछरितो सामान परीक्षण गर्न ३० जाँचकी परिचालन गरिएको बताउँदै प्रमुख भन्सार अधिकृत खड्काले राजश्व चुहावट रोक्ने कार्यमा सशस्त्र प्रहरी बल भन्सार सुरक्षा २१ नम्बर गुल्मले राम्रो काम गरिरहेको जानकारी दिनुभयो ।
 
चीनको केरूङबाट सामान लिई भन्सार हातामा प्रवेश गर्ने मालबाहक ट्रक कन्टेनरको छिटोछरितो परीक्षण भइरहेकोले दैनिक रूपमा ५०÷६० ट्रक कन्टेनरको जाँचपास हुने गरेको बताइएको छ । 
 
स्थानीय प्रशासन, सुरक्षा निकायबाट भएको सहयोग एवं भन्सार कर्मचारीले अहोरात्र गरेको योगदानकै कारण नियमित रूपमा राजश्व सङ्कलन गर्ने कार्य सहज भएको भन्सार कार्यालयले जनाएको छ ।