विकासका लागि आन्तरिक स्रोत पर्याप्त भएको अर्थमन्त्री खतिवडाको भनाई

माघ ०३,२०७६

-

माघ ३,२०७६ काठमाडौं ।
 
अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको विकासका लागि आन्तरिक स्रोत पर्याप्त नभएको बताउनुभएको छ । 
 
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं १ विराटनगरद्वारा शुक्रबार आयोजित नेपाल र स्वीजरल्याण्ड सरकारबीच द्विपक्षीय सम्झौता र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नागरिकको बढ्दो अपेक्षा पूरा गर्न वैदेशिक सहायता आवश्यक रहेको स्पष्ट पार्नुभयो । 
 
अर्थमन्त्री डा खतिवडाले मुलुक सङ्घीयतामा गइसकेपछि तीन वटै सरकारको सेवा प्रवाहलाई वृद्धि गर्न आन्तरिक र बाह्य स्रोतको खोजी भइरहेको धारणा राख्दै देशलाई प्राप्त हुने वैदेशिक सहयोगबाट पूर्वाधार निर्माण र जनताको जीवनस्तर माथि उकास्न खर्च गरिने बताउनुभयो ।
 
उहाँले वैदेशिक सहयोगलाई सरकारले भौतिक पूर्वाधारको विकासमा परिचालन गर्ने र यसबाट शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि सुधार हुने भन्दै वैदेशिक सहयोगसँगै नेपालमा प्रविधि, क्षमता र ज्ञानमा पनि वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
 
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले वैदेशिक सहयोगले संविधान र सङ्घीयता कार्यान्वयनमा मद्दत पुग्ने विचार व्यक्त गर्नुभयो । उहाँले सङ्घीयता कार्यान्वयनमा तीनवटै सरकारबीच समन्वय भइरहेको स्पष्ट पार्दै स्वीजरल्याण्ड सरकारबाट प्राप्त भएको यो सहयोगले प्रदेशको विकासमा कोशे ढुङ्गा सावित हुने बताउनुभयो ।
 
नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजावेथ भन क्याप्लरले सङ्घीयतालाई सफल बनाउन प्रदेश सरकार सफल हुनुपर्छ भन्दै नेपालको आर्थिक र सामाजिक विकासमा स्वीजरल्याण्ड सरकारले सहयोग गरिरहने कुरामा जोड दिनुभयो ।
 
चार वर्षका लागि स्वीजरल्याण्ड सरकारबाट प्रदेश नं १ का प्राप्त हुने रु एक अर्ब सहयोग कार्यक्रमको पत्रमा अर्थ मन्त्रालयका सहसचिव कृष्ण नेपाल र स्वीजरल्याण्डका राजदूत क्याप्लरले हस्ताक्षर गर्नु भएको छ ।