अन्नपूर्ण पदमार्गमा हिमपहिरो, विदेशी पर्यटक सम्पर्कविहीन

माघ ०३,२०७६

-

माघ ३,२०७६ काठमाडौं ।
हिमपहिरोमा परेर अन्नपूर्ण आधारशिविर (एबिसी) को पदमार्गमा केही विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्। पदयात्रामा रहेका चिनियाँ र कोरियन पर्यटकको समूह हिमपहिरोमा परेको प्रहरीले बताएको छ। पर्यटकलाई लिएर पदयात्रामा गएका गाइड पनि हिमपहिरोमा परेका छन्।
 
कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार शुक्रबार दिउँसो ती पर्यटक हिमपहिरोमा परेका हुन। उक्त क्षेत्रमा लगातार हिमपात भईरहेको र सञ्चारसम्पर्क नभएकोले पनि सम्पर्कविहीन भएका पर्यटकको अवस्थाबारे जानकारी पाउन नसकेको कार्कीले बताए। 
 
कार्कीका अनुसार पाँचजना कोरियन पर्यटक हिमपहिरोमा परेका थिए। ती मध्ये एकजनाको घाइते अवस्थामा उद्धार भएको छ। अरु चारजना कोरियन पर्यटक सुरक्षित रहेको उनले बताए। तर, चिनियाँ पर्यटकको बारेमा भने जानकारी नआईसकेको उनले बताए।
 
केही पर्यटक हिमपहिरोमा परेर हराएको आशंका गरिएको छ। सञ्चार सम्पर्क नभएको र उद्धारका लागि खटिएको प्रहरी टोली घटनास्थलतर्फ गइरहेकोले यकिन जानकारी आएको छैन,’ उनले भने, ‘लगातार हिउँ परेकोले पनि उक्त क्षेत्रमा उद्धारमा पुग्न कठिनाई भएको छ।’ घान्द्रुकबाट प्रहरी घटनास्थलतर्फ गईरहेको उनले बताए। स्थानीयबासीसँग सम्पर्क गर्ने प्रयास भईरहेको कार्कीले जानकारी दिएका छन् ।
 
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०का घान्द्रुकस्थित संरक्षण अधिकृत बिदुर कुइकेलले भने एकजना नेपाली गाइड मात्र हिमपहिरोमा परेर बेपत्ता भएको जानकारी दिएका छन्। ती गाइडको पहिचान खुलेको छैन। 
 
पर्यटक लिएर हिडिरहेको बेला एकाएक माथिबाट हिमपहिरो झरेको हो, कुइँकेलले भने, एकजना गाइड सम्पर्क विहीन भएका छन्। तर, उनीसँगै रहेका अर्का एकजना पोर्टर भने सुरक्षित छन्। पदयात्रामै रहेका कोरियन पर्यटक पनि हिमपहिरोको चपेटामा परेको उनले बताए। पदयात्रामै रहेका चिनियाँ पर्यटकको बारेमा जानकारी नपाएको उनले बताए।
 
कुइकेलका अनुसार शुक्रबार दिउँसो १२ बजेतिर देउराली र हिङ कु केभको बीचमा हिमपहिरो झरेको थियो। उनका अनुसार अरुबेला पनि त्यो ठाउँमा हिमपहिरो आउने गर्छ।