कुहिरोले आन्तरिक र अन्तराष्ट्रिय दुवै तर्फका उडान र अवतरण अवरुद्ध

माघ ०४,२०७६

-

माघ ४,२०७६ काठमाडौं ।
 
त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण रोकिएको छ । बाक्लो कुहिरो लागेर भिजिविलिटी कम भएपछि आन्तरिक र अन्तराष्ट्रिय दुवै तर्फका उडान र अवतरण हुन नसकेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
 
विमानस्थलको भिजिविलिटी अहिले ५० मिटर मात्रै छ । उडान तथा अवतरण खुलेपछि पनि त्यसको प्रभाव दिनैभर पर्ने विमानस्थल कार्यालयले जनाएको छ ।
 
अहिले काठमाण्डौसहित धेरैजसो ठाउँमा बाक्लो कुहिरो लागेका कारण सडकमा गाडी चलाउन र पैदल हिँड्न पनि समस्या भएको छ । भिजिविलिटी कम भएकाले विस्तारै गाडी चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
 
पहाडी क्षेत्रमा लागेको कुहिरो बिस्तारै हटे पनि तराईमा लागेको कुहिरो हट्न समय लाग्ने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूती पोख्रेलले बताउनु भयो ।
 
यसैबिच देशका धेरै ठाउँमा बिहीबार र शुक्रबारदेखि वर्षा र हिमपात गराइरहेको मौसमको प्रणाली कमजोर हुँदै गएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
 
बर्षा र हिमपात गराउने प्रणाली कमजोर हुँदै गएकाले शनिबारदेखि मौसम खुल्दै जाने महाशाखाकी मौसमविद् विभूती पोख्रेलले जानकारी दिनुभयो । 
 
तर शनिबार बेलुकीपख काठमाण्डौसहित मध्य र पश्चिमका थोरै ठाउँमा एकैछिन हल्का पानी पर्ने संभावना भने रहेको उहाँले बताउनुभयो ।
 
गएको २४ घण्टामा देशभरी नै पानी परेको छ । सबैभन्दा धेरै वीरेन्द्रनगरमा ६० मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ ।