आजबाट मौसम सुधार आउने संकेत,काठमाडौंमा दिउँसोबाट घाम लाग्न सक्ने

माघ ०४,२०७६

-

माघ ४,२०७६ काठमाडौं ।
 
केही दिनदेखि जारी बदली, वर्षा र हिमपातमा आजबाट क्रमिक सुधार हुने मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ ।
 
गत बुधबार देशको पश्चिम भेगबाट प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीका कारण उच्च हिमाली भेगमा हिमपात र पहाडी र तराई क्षेत्रमा वर्षा भएको थियो । 
 
वर्षाका कारण चिसोसमेत बढेको छ । तर, यो प्रणाली शनिबारबाट कमजोर बन्दै गएकाले मौसममा क्रमिक सुधार हुने पूर्वानुमान महाशाखाले जनाएको छ ।
 
 
काठमाडौंमा शनिबार बिहानैदेखि हुस्सु लागेको छ । मौसमविद्का अनुसार, केहीबेर काठमाडौं उपत्यकामा बदली भए पनि दिउँसोबाट घाम लाग्नसक्ने सम्भावना छ ।
 
यद्यपि, भोलिबाट भने काठमाडौंसहित देशका अधिकांश भूभागको मौसम घमाइलो हुने छ । 
 
उच्च पहाडी तथा हिमाली भेग भने आज दिनभर नै हिमपातको जोखिममा पर्नसक्ने सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सतर्कता अपनाउन पनि यो क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ