अमेरिका र क्यानडा पठाईदिने भन्दै म्यानपावर कम्पनीले ३ सय युवा ठगेको खुलासा

माघ २४,२०७६

-

माघ २४,२०७६ काठमाडौं ।
रमेश भारती
वैदेशिक रोजगारीमा अमेरिका र क्यानडा लैजाने भन्दै म्यानपावर कम्पनीले श्रमिकलाई झुक्याएर मोटो रकम ठगी ठगी गरेको भेटिएको छ ।
 
ठगिएका पीडितहरू म्यानपावर कम्पनी र एजेन्टका विरूद्ध उजुरी गर्न दैनिकजसो वैदेशिक रोजगार विभाग धाउँछन् । एउटै म्यानपावरले रोजगारीका लागि क्यानडा लैजाने भन्दै ५ करोड रूपैयाँसम्म ठगी गरेको उजुरी विभागमा दर्ता भएको छ ।
 
म्यानपावरले अमेरिका र क्यानडा पठाइदिने भन्दै एक व्यक्तिसँग ६० लाख रूपैयाँसम्म असुलेको उजुरी रोजगारपीडितले गरेको विभागले जानकारी दिएको छ ।
 
विभागको मुद्दा शाखाका अनुसार डुल्स्को हुम्यान रिसोर्ज प्रालि (५००)ले ५ जनाको समूहलाई रोजगारीका लागि क्यानडा पठाइदिने भनेर करिब ७ करोड रूपैयाँ ठगी गरेको उजुरी दर्ता भएको छ ।
 
डुल्स्कोले याजिनबहादुर कार्कीलाई क्यानडा रोजगारीमा पठाइदिने भन्दै ६० लाख रूपँयाँ ठगी गरेको उजुरी आएको विभागले जनाएको छ ।
 
म्यानपावरले रोजगारीका लागि क्यानडा र युरोपका देश पठाइदिने भन्दै ५ महिनामा करिब ७ करोड रुपैंया ठगी गरेको उजुरी पीडितले विभागमा दर्ता गरेका छन् ।
 
यस्तै, डुल्स्को म्यानपावरले क्यानडा पठाइदिने प्रलोभनमा सुरज आलेमगरसँग १० लाख, प्रदीप पौडेलसँग ३ लाख, लालबहादुर मगरसँग ३ लाख, गोपाल शाहीसँग १० लाख, राजकुमार तामाङसँग ५ लाख र जीवन मगरसँग ४ लाख ठगी गरेको उजुरी विभागमा दर्ता भएको छ ।
 
डुल्स्को म्यानपावरविरुद्ध विभागमा ६० वटाभन्दा धेरै ठूला ठगीका उजुरी दर्ता भएका छन् । यो म्यानपावरले करिब २ सय जना श्रमिकलाई ठगी गरेको विभागको अनुमान छ ।
 
यसैगरी, फोर्सवान प्रालिले सूर्य केसी नाम गरेका एक व्यक्तिलाई रोजगारीका लागि क्यानडा पठाइदिने भनेर ५ लाख २५ हजार ठगी गरेको उजुरी विभागमा दर्ता भएको छ ।
 
यस्तै, पदम कुमार क्षत्री र उज्ज्वल चौलागाईंसँग एसटीएल टेड्र लिङ्कले १२ लाख ठगेको उजुरी दर्ता भएको विभागले जनाएको छ ।
 
विभागका अनुसार रिलायन्स नेपाल इन्टरनेसनल ओभरसिज प्रालिले रोजगारीका लागि क्यानडा पठाइदिने भनेर प्रकाश सापकोटासँग ४ लाख ठगी गरेको उजुरी परेको छ ।
 
सूर्य नेपाल इन्टरनेसनल प्रालिले मिलन लामालाई रोजगारीमा अमेरिका पठाइदिने भनेर १५ लाख ठगी गरेको उजुरी विभागमा परेको छ ।
 
यसैगरी, जनता ओभरसिज प्रालिले लक्कसीराम चौधरीसँग क्यानडा पठाइदिने भनेर १४ लाख ठगी गरेको उजुरी विभागमा छ । म्यानपावर हाल बन्द छ । पीडितको उजुरीका आधारमा सञ्चालकको खोजी भइरहेको विभागले जानकारी दिएको छ ।
 
यी म्यानपावरले करिब ३ सय युवालाई अमेरिका र क्यानडा पठाइदिने प्रलोभन देखाएर ठूलो रकम ठगी गरेको उजुरी दर्ता भएको र पीडितहरू विभाग धाइरहेको विभागले जानकारी दिएको छ ।
 
यसरी ठगिनेमध्ये कतिपय श्रमिक विदेशमा अलपत्र परेर फर्किने गरेका छन् । उनीहरू अमेरिका क्यानडा भनेर नेपालबाट हिँडे पनि तेस्रो देशमा अलपत्र परेर स्वदेश फर्किने गरेको विभागले जनाएको छ ।