नेकपाको नेतृत्वमा सरकार गठन भएको दुई वर्षःसरकार र पार्टीबीचको सम्बन्ध सुमधुर बन्न सकेन

फाल्गुण ०२,२०७६

-

फागुन २,२०७६ काठमाडौं ।
 
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा सरकार गठन भएको दुई वर्ष बितिसकेको छ। तर यस अवधिमा सरकार र पार्टीबीचको सम्बन्ध सुमधुर बन्न नसकेको अवस्था रहेको छ ।
 
 पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारको अर्का अध्यक्ष पुष्पकमल दाहालले खुलेर प्रशंसा गर्न सकेका छैनन्। सरकारमा सहभागी भएबाहेकका अन्य पार्टी नेताले पनि सरकारको कामकारबाहीको प्रायः आलोचनै गरेका छन्। सरकार बनेको एक वर्ष नपुग्दै नेकपाभित्र पार्टीले सरकार चलाउने कि सरकारले पार्टी चलाउने भन्ने द्वन्द्व सुरु भयो। 
 
वरिष्ठ नेता माधवकुमार नेपालले सातबुँदे असहमति लेखेर नै सरकारको आलोचना गरेका थिए। अर्का वरिष्ठ नेता झलनाथ खनालले पनि बेलाबखत सरकारको कामलाई लिएर आलोचना गरिरहेका छन्। 
 
पार्टी उपाध्यक्ष वामदेव गौतमले त सरकार र पार्टी एकै व्यक्तिले चलाउनुहुँदैन भन्दै ओलीको अधिकार कटौतीको मागसमेत गरेका थिए। २०७५ मंसिर २९ गते बसेको स्थायी कमिटी बैठकमा फरक मत राख्दै गौतमले ओलीको अधिकार कटौतीको माग गरेका थिए। त्यो माग अहिले आएर पूरा भएको छ। पार्टी एककरणपछि सरकारले ल्याएका कार्यक्रमलाई पार्टीका नेता कार्यकर्ताले अहिलेसम्म खुलेर प्रचार गर्न सकेका छैनन्।
 
सरकारका आलोचक घनश्याम भुसाल र योगेश भट्टराई अहिले सरकारमा छन् तर पनि सरकारले भनेजस्तो गति लिन नसकेको भन्दै गत माघ १५ गते बसेको केन्द्रीय कमिटी बैठकमा आलोचना भएको थियो। नागरिक दैनिकमा खबर छ ।