ए डिभिजन लिगः एनआरटीमाथि हिमालयन शेर्पाको जित

फाल्गुण ०२,२०७६

-

फागुन २,२०७६ काठमाडौं ।
सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले न्युरोड टिम (एनआरटी) माथि पुनरागमन जित हात पारेको छ ।
 
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको लिगको आफ्नो अन्तिम खेलमा शेर्पाले एनआरटीलाई २-१ ले हराएको हो ।
 
खेलको ३० औं मिनेटमा राजेश परियारको गोलबाट एनआरटीले अग्रता बनाएको थियो । राजेशले डिबक्स नजिकैबाट गरेको प्रहार सीधै गोलमा परिणत भएको थियो ।
 
तर त्यो अग्रता लामो समय टिकेन । खेलको ४१ औं मिनेटमा शेर्पाले बराबरी गोल फर्कायो । विदेशी खेलाडी स्टेफन समिरले डिबक्स भित्र तीन डिफेन्डरलाई छलाउँदै उत्कृष्ट गोल गरेका थिए ।
 
पहिलो हाफको इन्जुरी समयमा शेर्पाले गोल गर्दै अग्रता बनायो । त्रिदेव गुरुङले गोल गर्दै शेर्पालाई २-१ को अग्रता दिलाए ।
 
दोस्रो हाफमा थप गोल नभएपछि शेर्पा २-१ ले विजयी भयो ।
 
जितपछि १३ खेलबाट १४ अंकसहित दशौं स्थानमा उक्लिएको छ । पराजित एनआरटी भने १५ अंकसहित आठौं स्थानमा यथावत छ ।