अतिक्रमित जग्गा फिर्ता ल्याउन भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्याल नै फिल्डमा

फाल्गुण ०५,२०७६

-

फागुन ५,२०७६ काठमाडौं ।
अतिक्रमित जग्गा फिर्ता ल्याउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल नै फिल्डमा खटिएको छ। 
 
काठमाडौंका प्रमुख तीन स्थानका १५ रोपनी ६ आना २ दाम जग्गामा मन्त्री अर्यालले आइतबार सरकारी साइनबोर्ड गाडेकी छन्। 
 
बागमती नदी करिडोरस्थित आलोकनगर, नयाँ बानेश्वर र धोबी खोला करिडोरस्थित अनामनगरमा ‘यो जग्गा नेपाल सरकारको हो’ भन्ने बोर्ड राखिएको हो। काठमाडौं महानगरपालिका–३१ मा पर्ने आलोकनगरमा १० रोपनी ८ आना मिचिएको थियो। 
 
बानेश्वरमा १० नम्बर वडा कार्यालयसँगै चार रोपनी र वडा नम्बर ३२ मा पर्ने अनामनगरमा १४ आना २ दाम जग्गा अतिक्रमण भएको थियो। आलोकनगरमा अतिक्रित जग्गामा घरै बनाएर भाडा लगाएको पाइएको छ। 
 
त्यहाँ दर्जनभन्दा बढी परिवार बसोबास गरिरहेका छन्। यसका साथै जुत्ता कारखाना छ, रेस्टुरेन्ट र हार्डवेयर पसल सञ्चालनमा छन्। भूमाफियाले २०४७ सालदेखि जग्गा अतिक्रमण गरी भाडा उठाउँदै आएको पाइएको मन्त्री अर्यालले बताइन्।
 
जग्गा फर्काउन मन्त्रीसहितको टोली आएपछि केही स्थानीयले विरोध जनाएका थिए। मन्त्रीले गाडेको साइनबोर्ड उनीहरूले ढाल्न खोज्दा प्रहरीले रोकेको थियो। 
 
उनीहरूले उक्त जग्गा आफ्नो भएको दाबी गरेका थिए। १६ परिवारले जग्गा उपभोग गरिरहेको दाबी उनीहरूले गरेका थिए। ‘यो हाम्रो पुख्र्यौली जग्गा हो, स्थानीय वसन्त खड्काले भने,हामीसँग लालपुर्जा छ।’ अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।