कश्मीर मामिला समाधान गर्न राष्ट्रसंघको आग्रह भारतद्धारा अस्विकार

फाल्गुण ०५,२०७६

-

फागुन ५,२०७६ काठमाडौं ।
कश्मीर मामिला समाधान गर्न पाकिस्तानसँग वार्ताका लागि संयुक्त राष्ट्रसंघले गरेको आग्रह भारतले अस्वीकार गरेको छ ।
 
आइतबार पाकिस्तानको चार दिने भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले वार्तामार्फत कश्मीरको समस्या समाधान गर्न गरेको आग्रह भारतले अस्वीकार गरेको हो ।
 
इस्लामावादमा पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीसँगको संयुक्त पत्रकार सम्मेलनमा उनले दुई मुलुकबीच जारी तनावलाई लिएर राष्ट्रसंघ चिन्तित रहेको भन्दै संयमतापूर्वक तनाव कम गर्न आग्रह गरेका थिए ।
 
महासचिव गुटेर्रेसले राष्ट्रसंघको बडापत्र र सुरक्षा परिषद्को प्रस्तावअनुसार नै संवादमार्फत शान्ति र स्थिरतासम्म पुग्न सकिने भन्दै यो मामिलामा पहल गर्न आफु तयार रहेको बताए ।
 
तर यसका लागि दुई देश सहमत हुनु आवश्यक रहेको उनको भनाइ थियो । यता भारतले भने महासचिव गुटेर्रेसको पहललाई खारेज गरिदिएको छ ।
 
भारतीय विदेशमन्त्रालयका प्रवक्ता रवीश कुमारले भारतको धारणामा कुनै बदलाव नआएको जनाएका छन् । उनले जम्मू–कश्मीर भारतको अभिन्न अंग रहेको र यसलाई पाकिस्तानले जर्बजस्ती कब्जा गरेको भन्दै यो मामिलामा आफुहरुलाई कुनै पनि मध्यस्थता जरुरी नरहेको बताए ।
 
प्रवक्ता रवीशले भारतमा आतंकवाद फैलाउनबाट रोक्न राष्ट्रसंघले पाकिस्तानलाई दबाव दिनुपर्नेमा जोड दिए । महासचिवमा निर्वाचित भएपछि गुटेर्रेसको पाकिस्तानको पहिलो भ्रमण हो ।