कोरोनाभाइरस प्रभावित प्रान्त निको हुबेमा हिँडडुल गर्न प्रतिबन्ध

फाल्गुण ०५,२०७६

-

फागुन ५,२०७६ काठमाडौं ।
 
कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमणसँग सङ्घर्ष गरिरहेको चीनले उक्त प्रकोपको केन्द्रबिन्दु हुबे प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइ गरेको छ।
 
आपत् परेको बेलाबाहेक छ करोड मानिसलाई घरबाहिर ननिस्कन भनिएको छ भने निजी कारको प्रयोगमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाइएको छ।
 
हुबे प्रान्त र त्यसको राजधानी वुहान नयाँ कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित भएका छन्। त्यहाँ आइतवारसम्म १,६५० जनाभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ।
 
तर चीनले आइतवार अर्थात्‌ लगातार तेस्रो दिन कोरोनाभाइरसको सङ्क्रमण घटेको घोषणा गर्दै सङ्क्रमण फैलिनबाट रोकिरहेको बताएको थियो।
 
नयाँ कोरोनाभाइरसको सङ्क्रमणबाट हुने रोगलाई कोभिड-१९ नाम दिइएको छ। यो सङ्क्रमणमा बिरामीलाई श्वासप्रश्वाससम्बन्धी समस्या हुन्छ।
 
त्यहाँका मानिसहरूलाई घरभित्रै रहन भनिए पनि उनीहरू आपत्कालीन अवस्थामा चाहिँ बाहिर निस्किन पाउनेछन्।
 
त्यसका साथै खाद्यान्न तथा अन्य सामान खरिद गर्न दिनका निम्ति प्रत्येक घरबाट एक जनालाई तीनतीन दिनमा बाहिर निस्किन अनुमति दिइनेछ।
बीबीसी