शेयर बजारमा २ अर्ब ६८ करोड रुपैयाँको शेयर किनबेच,हालसम्मकै उच्च रेकर्ड

फाल्गुण ०५,२०७६

-

फागुन ५,२०७६ काठमाडौं ।
 
शेयर बजार परिसूचक नेप्सेले कारोबार रकममा ऐतिहासिक रेकर्ड बनाएको छ ।
 
साप्ताहिक कारोबारको दोस्रो दिन सोमबार शेयर बजारमा हालसम्मकै उच्च २ अर्ब ६८ करोड रुपैयाँको शेयर किनबेच भयो ।
 
सोमबार दिनभरको बजारमा १७५ कम्पनीको शेयर उक्त मूल्यमा किनबेच भएको हो ।
 
यसअघि गत सन् २०१९ को फेब्रुअसरी १३ मा पहिलोपटक २ अर्ब १६ करोड बढी रुपैयाँको शेयर किनबेच भएको थियो ।
 
तर सोमबारको बजारले नयाँ इतिहास रचेको छ । साढे २ अर्ब बढी कारोबार भएको बजारमा सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर किनबेच भएको छ । कम्पनीको १२ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
 
त्यस्तै, शिखर इन्स्योरेन्सको ११ करोड २१ लाख, हिमालयन डिष्टिलरीको १० करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
 
बजारमा कारोबार रकमसँगै नेप्से परिसूचकमा पनि उछाल देखिएको छ । सो दिनको नेप्से ३४.२६ अंकले बढेर १३९८.२४ अंकमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.५१ प्रतिशतले बढी हो ।