कृष्णबहादुर महराले सफाइ पाएको बारे संसदलाई जानकारी,संसद जान बाटो खुला

फाल्गुण ०६,२०७६

-

फागुन ६,२०७६ काठमाडौं
पूर्व सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयास (जबरजस्ती करणी उद्योग) मुद्दामा सफाइ पाएको विषय संसदमा जानकारी गराइएको छ । यससँगै महराले सांसदको रुपमा संसदका बैठकमा सहभागी हुने तथा कार्य गर्ने बाटो खुलेको छ ।
 
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाका सदस्य महराले जबरजस्ती करणी उद्योगको मुद्दाबाट सफाइ पाई थुनामुक्त भएको व्यहोरा जानकारी गराए ।
 
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा महरा थुनामुक्त भएको जानकारी गराउँदै सभामुख सापकोटाले भने-‘महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरको मिति २०७६/०६र१९ गतेको पत्रबाट जबरजस्ती करणी उद्योग मुद्दाको अनुसन्धानको शिलशिलामा काठमाडौं जिल्ला अदालतको अनुमतिबाट कारागार कार्यालय डिल्लीबजार काठमाडौंमा थुनामा रहनुभएका प्रतिनिधिसभाका माननीय सदस्य श्री कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतको मिति २०७६/११/०५ गतेको फैसलाले अभियोग मागदाबीबाट सफाइ पाउने ठहर गरी २०७६/११/०५ गते थुनामुक्त हुनुभएको व्यहोरा जानकारी गराउँछु ।’
 
प्रतिनिधि सभाका तत्कालीन सभामुख महरा संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको अभियोगमा गत असोज १९ गते पक्राउ परेका थिए ।
 
काठमाडौं जिल्ला अदालतको आदेशानुसार मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका महराले सोमबार अभियोगबाट सफाइ पाएका हुन् ।
 
काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलाशले अभियोगको दाबी नपुग्ने ठहर गर्दै महरालाई सफाइ दिएको हो ।