कानून बनाउँदैमा विधायकका जिम्मेवारी समाप्त नहुने अध्यक्ष तिमिल्सिनाको भनाई

फाल्गुण ०६,२०७६

-

फागुन ६,२०७६ काठमाडौं ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले कानून बनाउँदैमा विधायकका जिम्मेवारी समाप्त नहुने बताएका छन् । राष्ट्रियसभा, सङ्घीय संसद् विधायन समितिले प्रकाशन गरेको ‘विधि निर्माणदेखि कार्यान्वयन परीक्षण मापनसम्म’ नामको पुस्तिका विमोचन गर्दै उहाँले सांसदले ऐनको कार्यान्वयन भए÷नभएको तथा अनुगमन एवं औचित्यता र महत्वका बारेमा समेत जनतालाई जानकारी गराउनुपर्ने बताए ।
 
 
अध्यक्ष तिमल्सिनाले निर्वाचनका समयमा प्रतिनिधिले जनतासामु विधायकको मुख्य काम कानूनको निर्माण तथा कार्यान्वयन हो भन्ने बुझाउन नसक्दा  निर्दोषी पनि दोषी सावित हुन सक्ने विचार राखे ।  
 
पचास पृष्ठको उक्त पुस्तकमा नेपालको कानूनी इतिहास, संवैधानिक विकासक्रम, संविधानले अवलम्बन गरेको संसदीय प्रणाली र संसद्को स्वरुप, प्रतिनिधि र राष्ट्रियसभा, संसद्को समिति प्रणाली, संसद्मा क्रियाशील विभिन्न समिति, कानून निर्माण प्रक्रियाका झलक, ऐन कार्यान्वयन मापनसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यासलगायत विषय समेटिएका छन् । 
 
 
कार्यक्रममा कानून आयोगका अध्यक्ष माधव पौडेलले कानून निर्माणभन्दा कार्यान्वयनको विषय महत्वपूर्ण हुने बताउँदै विधायकले अनगिन्ती  कानून निर्माण गरेको तर कानूनको औचित्यता, महत्व र प्राथमिकता जनतालाई बुझाउन नसकेको विचार राखे । 
 
विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा  खिमलाल देवकोटाले कानूनको लेखापरीक्षण हुनुपर्ने जिकिर गरे ।