विशेष कारण देखाउँदै स्ववियु चुनाव स्थगित

फाल्गुण ०७,२०७६

-

फागुन ७,२०७६ काठमाडौं ।
विशेष कारण देखाउँदै त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगन गरेको छ ।
 
त्रिवि कार्यकारी परिषद्को सोमबार बसेको बैठकले विशेष कारणवश् अर्को निर्णय नभएसम्मका लागि स्ववियु चुनाव स्थगित गरेको त्रिविका कार्यवाहक रेक्टर शिवलाल भुसालले जानकारी दिनुभयो ।
 
विद्यार्थी सङ्गठनको सहमतिमै चुनाव स्थगित गरिएको हो, उहाँले भन्नुभयो, चुनाव हुनुभन्दा एक महिना अगाडि चुनाव कार्यतालिका सार्वजनिक गर्नुपर्ने थियो, तर त्यो हामीले सकेनौँ, त्यसैले चुनाव स्थगित गरेका हौँ । उहाँले विद्यार्थी सङ्गठनको छलफल र सहमतिमा छिट्टै चुनाव मिति तय गरिने जानकारी दिनुभयो ।
 
भुसालका अनुसार आउँदो चैत अन्तिम हप्ता चुनाव गर्ने गरी विद्यार्थी सङ्गठनसँग सहमति गरिनेछ । त्यसअगावै स्नातकोत्तर तहको दोस्रो र चौथो सेमेस्टरको परीक्षा सम्पन्न गर्ने त्रिविको तयारी छ ।
 
त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सबै क्याम्पसलाई परिपत्र गर्दै तोकिएको मितिमा चुनाव नहुने स्पष्ट पारेको छ । त्रिविका आङ्गिक क्याम्पसमा यही फागुन १४ गतेका लागि स्ववियु चुनावको मिति तोकिएको थियो ।
 
प्रत्येक दुईरदुई वर्षमा हुने स्ववियु चुनाव विद्यार्थी सङ्गठनबीचको विवादका कारणले विगत १० वर्षदेखि नियमित हुन सकेको छैन । त्रिविमा विसं २०६५ यता क्याम्पसमा स्ववियु चुनाव हुन सकेको छैन । तीन वर्षअघि विसं २०७३ मा भएको चुनाव दुई सय ५० क्याम्पसमा मात्र भएको थियो ।
 
प्रत्येक दुईरदुई वर्षमा हुने स्ववियु चुनाव निर्धारित समयमा हुन नसक्दा विद्यार्थी आन्दोलन नै शिथिल भएको छ । विद्यार्थी सङ्गठनबीच चुनाव प्रणाली, उमेरहदबन्दीका कारणले स्ववियु चुनाव विगत १० वर्षदेखि हुन नसकेको हो । 
 
त्रिविले ६२ आङ्गिक क्याम्पसमा स्ववियु चुनावको तयारी गर्न क्याम्पस प्रमुखलाई पत्र पठाइसकेको थियो । पत्रअनुसार ती क्याम्पस स्ववियु चुनावको तयारीमा जुटेका थिए । तोकिएको चुनावका लागि यही फागुन ४ गतेदेखि चुनाव प्रक्रिया सुरु गर्ने प्रस्ताव गरिए पनि काम अघि बढेको थिएन । रासस