नेप्से दुई वर्ष पछिकै उच्च विन्दुमा, पौने तीन अर्बको कारोबार

फाल्गुण ०८,२०७६

-

फागुन ८, २०७६ काठमाडौं ।
सेयर बजार परिसूचक नेप्से दुई वर्ष पछिकै उच्च विन्दुमा पुगेको छ । साताको अन्तिम दिन बिहीबार नेप्से २९ दशमलब ३२ विन्दुले बढेर १४ सय ३४ दशमलब ५७ विन्दुमा पुग्यो । यो २०७५ वैशाख पछिको उच्च विन्दु हो । त्यस समयमा नेप्से १४ सय ३८ अंकसम्म पुगेको थियो । 
 
यसदिन जीवन र निर्जीवन बिमा समूहमा उछाल आएपछि नेप्से उच्च अंकले बढेको हो । जीवन बिमा समूह सबैभन्दा उच्च ३ सय ८५ विन्दुले बढ्यो भने निर्जीबन बिमा समूहमा पनि ३ सय ७४ अंकको उच्च वृद्धि आयो । यसदिन लघुवित्त समूह पनि १ सय ५९ अंकले उक्लियो ।
 
यसदिन शिवम् सिमेन्टको सेयर खरिद बिक्री सबैभन्दा बढी भयो । यो कम्पनीको मात्रै १७ करोड रुपैयाँको सेयर कारोबार भयो । यस्तै हिमालय डिस्टिलरी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १२÷१२ करोड रुपैयाँको सेयर कारोबार भए ।
 
यसदिन कारोबार पनि पौने तीन अर्ब पुग्यो । १ सय ८० कम्पनीको ५८ लाख २९ हजार कित्ता सेयर २ अर्ब ७८ करोड ५० लाख रुपैयाँमा खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 
 
यसदिन १ सय २३ कम्पनीका सेयरधनीले कमाए । २० कम्पनीका सेयरधनीले गुमाए भने १८ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ । बोटलर्स नेपालको सेयर मूल्य एकै दिन ७ सय ७२ रुपैयाँले बढेर ८ हजार ४ सय ९९ पुगेको छ ।