विकास बजेट खर्च नहुने भन्दै आयोजनाहरूले फिर्ता गर्न थाले

फाल्गुण ११,२०७६

-आस्था न्युज

काठमाडौँ । सरकारले बिकास निर्माण गर्न नसकेर आलोचना खेपिरहेको अवस्थामा बजेट विनियोजन गरिसकेको विकास आयोजनाहरुले भने रकम खर्च गर्न नसक्ने भन्दै बजेट फिर्ता  गर्न सुरु गरेका छन् ।

 

अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक वर्ष २०७६/७७ को बजेटको समीक्षा गर्दै फागुनभित्र ठेक्का नलाग्ने आयोजनाले बजेट सरेन्डर गर्न निर्देशन दिए अनुसार बजेट फिर्ता शुरु भएको हो ।

 

विकास निर्माणको जिम्मा लिएर खर्च गर्न नसक्ने आयोजना तथा निकायहरुले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन अनुसार बजेट फिर्ता  गर्न थालेका हुन् । विनियोजन गरिएको रकम खर्च गर्न नसकेपछि बजेट फिर्ता सुरु गरेका हुन्। चालु आर्थिक वर्षमा राष्ट्रिय गौरवका आयोजनाहरुमा एक खर्ब दुई अर्ब ६५ करोड विनियोजन गरिएकोमा ६ महिनासम्म १९ अर्ब २४ करोड मात्रै खर्च भएको छ। २२ आयोजानामध्ये कुनैको पनि प्रगति सन्तोषजनक देखिएको छैन्।

 

 

बजेट फिर्ता गर्नेमा काठमाडौं-तराई द्रुतमार्गले विनियोजित १५ अर्ब ७२ लाख  बजेट मध्ये सात अर्ब ३० करोड रुपैयाँ फिर्ता गरेको छ । त्यस्तै मेलम्ची खानेपानी आयोजनाको लागि चालु आर्थिक वर्षमा विनियोजन गरिएको  सात अर्ब ३८ करोड ९५ लाख रुपैयाँ बजेट मध्ये जम्मा ६५ करोड ९२ लाख मात्रै खर्च भएकोले बाकीं बजेट सरेन्डर गर्न प्रक्रिया अघि बढाएको छ । आयोजनाले  जग्गाको मुआब्जा वितरण गर्न नसक्दा आयोजनाले सबै रकम खर्च गर्न नसकेको हो ।

 

 

चालु आर्थिक वर्षमा खर्च गर्न असफल राष्ट्रिय गौरवका आयोजनाहरुको अवस्था यस्तो छ l

  • मध्यपहाडी लोकमार्ग -  विनियोजित बजेट  १२ अर्ब १९ करोड ९२ लाख , हाल सम्म खर्च दुई अर्ब ४८ करोड, बजेट फिर्ता नगर्ने  ।
  • सिक्टा सिँचाइ आयोजना-  विनियोजित बजेट एक अर्ब ५२ करोड तीन लाख रुपैयाँ, खर्च  ५१ करोड ५३ लाख
  • रानीजमरा कुलरिया सिँचाइ आयोजना- विनियोजित बजेट दुई अर्ब ४२ करोड, खर्च ६६ करोड १४ लाख
  • गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल- विनियोजित बजेट तीन अर्ब ३३ करोड, खर्च ४६ करोड ३३ लाख खर्च, आयोजनाले सबै रकम खर्च हुने भनेको छ।
  • निजगढ विमानस्थल आयोजना- विनियोजित बजेट एक अर्ब ५० करोड, खर्च शुन्य , आयोजनाले सबै रकम सरकारलाई फिर्ता गर्ने भएको छ।
  • पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल-  विनियोजित बजेट जग्गा अधिग्रहणसहित ८ अर्ब, खर्च ४ अर्ब ३ करोड रुपैयाँ खर्च गरिसकेको छ। बजेट फिर्ता नहुने l
  • पशुपति क्षेत्र विकास कोषले पनि हालसम्म विनियोजित बजेट खर्च गर्न सकेको छैन।
  • माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले विनियोजित सबै रकम खर्च गर्ने जनाएको छ।
  • हुलाकी राजमार्ग- विनियोजित बजेट १३ अर्ब ६३ करोड रुपैयाँ, खर्च तीन अर्ब १० करोड ४० लाख
  • मेट्रो रेल तथा मोनोरेल विकास आयोजना- विनियोजित बजेट ७ अर्ब ६९ लाख, खर्च  एक अर्ब ५७ लाख
  • त्यस्तै , सिँचाइ र जलविद्युत उत्पादन गर्ने लक्ष्य लिइएको भेरी बबई डाइभर्सनले चालु वर्षमा एक अर्ब १७ करोड खर्च गरेको छ।