केपी ओलीको ‘भिजन टु एक्सन’ भनेको यही हो ?

फाल्गुण ११,२०७६

Siddharth Gautam

-

• सिद्धार्थ गौतम–

  निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको राजीनामा आएपनि यसमा चित्त बुझाउने ठाउँ देखिंदैन । उनको राजीनामाले मात्र नपुग्ने भएकाले यो प्रकरणमा तल्लो तहसम्म स्वतन्त्र तथा निष्पक्ष छानबिन आवश्यक देखिन्छ । 
 दुई महिना अघि नै विजय प्रकाश मिश्रले प्रधानमन्त्री कहाँ अडियो पुर्याएका थिए भन्ने चौतर्फी खवर सार्बजनिक भइसकेको छ । यती समूहको स्वार्थमा ओलीले बनाएका थिए सेक्युरिटी प्रेस खरिद योजना, जसमा विष्णु पौडेल समेत संलग्न थिए । 
 केपी ओली नेतृत्वको सरकार देशको लागि अभिशाप सिद्ध  भएको  छ । ओली नेतृत्वको सरकार घुसखोरी काण्डलाई ढाकछोप गर्न तिर  लागेको छ । सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिसन (घूस) मागेको विषयले देश तरंगित भएको छ । देशको सुरक्षा संवेदनशीलतासँग जोडिएको मुद्दामा प्रधानमन्त्री ओलीका असली भाइको यो काण्डले देश लज्जित छ । यो प्रकरणमा ओलीकै संलग्नता रहेको छ । ओली सरकार राष्ट्रघात, जनघात र फाँसिवादमा चुर्लुम्म डुबेको स्पष्ट छ ।
प्रधानमन्त्री ओलीको फोरजी, वाइडबडी, एनसेल, ललिता निवास, यति भ्रष्टाचार  प्रकरणमा संरक्षण र सङ्लग्नता देखिन्छ । यी सबै भ्रष्टाचारको पछाडि केपी ओली नै छन् । नैतिकताको आधारमा प्रधानमन्त्रीले  तत्काल  राजीनामा दिनुपर्छ । 
गोकुलप्रसाद बाँस्कोटालाई आफ्नो घर कुर्न लगाए । घर कुरुवालाई मन्त्री बनाए !  प्रधानमन्त्री केपी शर्मा ओलीलाई यतिखेर नैतिकताको आभास हुनुपर्ने हो । प्रधानमन्त्री ओलीमा नैतिकताको खडेरी परिसकेको छैन भने उनले नैतिकताको आधारमा तुरुन्त राजीनामा दिनुपर्छ । तर, कसैलाई पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भविष्यको विषयमा किञ्चित चिन्ता भए प्रधानमन्त्रीलाई सम्झाउनुपर्ने हो । अहिले उनले राजीनामा दिने समय हो ।
सधैँ भ्रष्टाचारीको मुख समेत हेर्दिन भनेर कुर्लिने प्रधानमन्त्री आफैँ भ्रष्टाचारीको संरक्षक भएको बेहोरा सेक्युरिटी प्रेस खरिद प्रकरणको अडियो सार्वजनिक गर्ने विजय मिश्रको भनाइबाट नै प्रमाणित भइसकेको छ । उनले प्रधानमन्त्रीलाई अहिले सार्वजनिक भएको अडियो दुई महिनाअघि नै उपलब्ध गराइसकेका रहेछन् । त्यही बेला प्रधानमन्त्रीले गोकुल बाँस्कोटाको राजीनामा माग्न सकेको भए अहिले उनलाई नैतिकताको खडेरी हुँदैन थियो । तर, प्रधानमन्त्री ओलीले त्यही बीचमा कतिचोटी भ्रष्टाचार आफू पनि गर्दिन, अरुलाई पनि गर्न दिन्न भनेर भाषण गरे ? भ्रष्टाचारीलाई काखी च्यापेर राख्ने अनि अरुलाई ठूला भाषण दिने प्रधानमन्त्री ओलीको नैतिकताको पोल अहिले खुलेको छ ।
 
यतिमात्र होइन यती समूहलाई देशका कैयौं महत्वपूर्ण जमिन अत्यन्त सस्तोमा र कतिपय अवस्थामा नियमसमेत मिचेर भोग चलन गर्न दिएकोबाट पनि उनको अनैतिक चरित्र स्पष्ट भइसकेको हो । प्रधानमन्त्री ओलीले आफ्ना निकटका व्यक्तिलाई जोगाउने र पार्टी्भित्रैका अरुलाई समर्थन गरेको शंकामा कसैलाई जरैबाट निमिट्यान्न पार्ने कोसिस गर्दै आएको धेरै गुनासो सुनिएको छ । अरु कसैले गलत कार्य गरेकोमा कारबाही गर्नुलाई अनैतिक मान्न मिल्दैन । तर आफू निकटकालाई जे सुकै गर्ने छुट दिनु भने नैतिक हैन र भन्न पनि पाइँदैन ।
 
यहाँ ठूलालाई सधै जे गरेपनि छुट र सानालाई कानुनको डण्डा लगाइन्छ । आफूले गरेको बदमासी र बदनियतपूर्ण कार्य कसैले कहिल्यै लेख्न, बोल्न र जनतालाई सूसुचित गर्न नसकोस् भन्ने नियतले अभिव्यक्ति स्वतन्त्रतालाई खुम्च्याउने र प्रेसलाई दबाबमा राख्ने ऐन कानुन किन ल्याइयो भन्ने पनि बाँस्कोटाको उदाङ्गिएको चरित्रबाट स्पष्ट भएको छ । यी र यस्ता कानुनको समर्थनमा सधैँ उभिने र आफ्नो सरकारको राम्रो कामको मात्र प्रेसले बखान गरिदेओस् भन्ने चरित्रका प्रधानमन्त्री पनि बाँस्कोटाको बदमासीको हिस्सा हुन् भन्ने शंकारहित भइसकेको छ । यस्तो अवस्थामा केपी ओलीले नै प्रधानमन्त्री पदबाट राजीनामा गरेर नैतिकताको उदाहरण पेस गर्नुपर्छ ।
अन्तिम नैतिक जिम्मेवारी हुने पनि त प्रधानमन्त्रीकै हो । महान कम्यूनिष्ट नेताले भएको इज्जत बचाउन तिर लाग्न पर्यो अन्यथा नांगेझार भएर हट्नपर्छ ।
 एक महिना पहिले नै गोकुलको टेप प्रमले पाएको हो भने उनले किन लुकाएको ? फेरि प्रमको सबभन्दा निकट ब्यक्तिले उनको स्वीकृति विना त्यत्रो ठूलो आँट कसरी गर्छ ? ‘दालमें कुछ काला है’  भन्ने हिन्दी भनाई चरितार्थ भएन र ?
(गौतम नेपाल रिपब्लिक पार्टीका केन्द्रीय अध्यक्ष हुन् । यो लेख लेखकका नीजि विचार हुन् : संपादक )