हाम्रो राष्ट्रिय पोशाक : संसारकै गौरव

फाल्गुण ११,२०७६

Dirgha raj Prasai

-

• दीर्घराज प्रसाई–
  नेपालको राष्ट्रिय पोशाक नेपालको पहिचान र सम्पदा हो । राष्ट्रिय पोशाक राष्ट्रिय औपचारिक समारोहमा र कार्यक्रमहरुमा स्वदेश–विदेशमा हुने राष्ट्रिय औपचारिक कार्यक्रमहरुमा टोपी, दौरा–सुरुवाललाई ग्रहण गरेर नेपालको पहिचान प्रस्तुत गर्न सक्नु सबैको लागि गौरवको कुरा हो !
 
नेपालको राष्ट्रिय पोशाक यहाँको पहिचान र सम्पदा हो । भारत, श्रीलंका, म्यान्मार आदि राष्ट्रका आ–आफ्नै राष्ट्रिय पहिरनहरु छन् । बेलायत, अमेरिका, युरोपियन राष्ट्रहरु सुट–टाई लगाएर खालि टाउकोमा प्रस्तुत हुन्छन् । विश्वभर यस्तै पहिरनको विस्तार होस् भन्ने ठान्छन् उनीहरु । शायद यही प्रभावमा परी २०६८ साल फाल्गुन ११ गते प्रधानमन्त्री नियुक्त भएपछि डा. बाबुराम भट्टराईले नेपालको राष्ट्रिय पोशाक हटाए । यो हाम्रो दुर्भाग्य थियो । लोग्नेमान्छेले लगाउने भोटो, दौरा, सुरुवाल, टोपी र स्वस्नीमान्छेले लगाउने ठूलो सारी, चौबन्दी चोलो हो । नेपाली पोशाकको विषयमा अमरकोषमा पनि वर्णन गरिएको छ । नेपाली भेषहरु सांस्कृतिक आधारमा बनेकाले हरनेपालीले हाम्रो पहिचानलाई स्वदेश–विदेशमा प्रयोग गर्नुमा गौरव ठान्छन् ।
 
टोपीको माथिल्लो भाग सगरमाथा स्वरुपको हिमालयको प्रतीक भादगाउँले टोपी र विभिन्न बुटाका आकर्षक टोपीहरुको महत्व विश्वभरमा चिनिएको छ । विदेशमा टोपी लगाउनेबित्तिकै नेपाली भन्ने चिनिन्छ । नेपालको राष्ट्रिय पोशाकको धार्मिक तथा तान्त्रिक मतको आधारमा ठूलो महत्व छ । संकट मोचनको हेतुले अष्टमातृकाका प्रतिकात्मक आठ टुक्रा (कल्ली) छाँटी भोटो, चोलो, दौरा, सुरुवाल, जामा, लुगाहरु सिलाउने हाम्रो मौलिक परम्परा छ । सुरुवाल पनि पञ्चभैरवको प्रतीक पाँच टुक्रामा गाँसी सिलाई शुभमुहुर्तमा धारण गर्ने गरिन्छ । नेपालको मौलिक राष्ट्रिय पोशाक तथा राष्ट्रिय झन्डाको महत्व राष्ट्रसंघमा पनि चर्चित छ ।
 
नेपालका विभिन्न क्षेत्रमा अनेकौं जाति, जनजाति, संस्कृति, परम्परा, सामाजिक मान्यता रहिआएको छ । भौगोलिक जलवायुको हिसाबले पनि टोपी, दौरा–सुरुवालको प्रयोग हिमाली क्षेत्र र तराई क्षेत्रमा पनि अप्ठ्यारो पर्न सक्छ । त्यसको लागि आ–आफ्नै आवश्यकता र परम्परागत भेषभूषालाई ग्रहण गरिनु राम्रो हो । पोशाकहरुलाई आवश्यकता अनुसार खुशीका साथ प्रयोग गरिनुपर्छ । संसद्को हकमा भन्नुपर्दा त्यहाँ नेपाल अधिराज्यभरका विभिन्न जातजाति तथा सांस्कृतिक पहिचान बोकेका जनप्रतिनिधिहरुको उपस्थिति रहेको हुन्छ ।
 
संसद् एक राष्ट्रिय विधायक भएकाले त्यसको ओपचारिक कार्यक्रमबाहेक दैनिक उपस्थितिमा विविध स्वरुपमा विभिन्न जाति, जनजातिका पहिरन लगाएर जनप्रतिनिधिहरुले प्रतिनिधित्व गर्न पाउनको लागि राज्यले नै वैधानिकता दिनुपर्छ । तर आफूखुशी विदेशी सर्ट–पाइन्ट अनि कुर्था–पाइजामाजस्ता पोशाक लगाएर औपचारिक कार्यक्रमहरुमा जाने धृष्टता गर्नु भनेको आफ्नै अपमान हो । स्वदेश–विदेशमा हुने राष्ट्रिय औपचारिक कार्यक्रमहरुमा टोपी, दौरा–सुरुवाललाई ग्रहण गरेर नेपालको पहिचान प्रस्तुत गर्न सक्नु सबैको लागि गौरवको कुरा हो । नेपाली राष्ट्रिय पोशाकको महत्व र परम्परालाई अध्ययन नै नगरी विवादमा पार्न खोजिएको कुरालाई कुनै हालतमा समर्थन गर्न सकिँदैन ।
 
संस्कृतिविद् सत्यमोहन जोशीले दौरा–सुरुवाल र टोपीलाई यथावत् राख्नुपर्छ भन्दै राष्ट्रिय पोशाक हटाएकोमा चिन्ता व्यक्त गरी यथावत् राख्न माग गरेका थिए । वि. नन्द वैद्य लेख्छन् ‘बहुजातीय, बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक विशेषायुक्त राष्ट्रिय भावानात्मक एकताको सूत्रमा हामी आबद्ध छौं । नेपालमा पृथ्वीनारायण शाह राजा भएपछि मल्ल राजाहरुले लगाउने दौरा–सुरुवाल पोशाक र मल्ल राजाहरुले चलाएको धेरैजसो रीतिरिवाज, अनुशरण गरेको कुरा इतिहासबाट थाहा हुन्छ । मल्लकालीन अवस्थादेखि नै दौरा–सुरुवाल नेपालको राष्ट्रिय पोशाकको रुपमा चिनिदै आएकोले नेपाली जनता, दौरा–सुरुवाल र टोपीलगायतका पोशाकलाई राष्ट्रिय पोशाकको रुपमा अंगाल्न चहान्छन् ।’
 
राष्ट्रिय पोशाक हाम्रो राष्ट्रिय पहिचान भन्दै फुर्पा तामाड लेख्छन्– ‘दौरा–सुरुवाल र कोट खस–बाहुन र क्षत्रीको मात्र भेषभूषा होइन । धरैजसो आदिवासी जनजातिले पनि दौरा–सुरुवाल लगाउँछन् । नेवारले पनि लगाएका छन् । म पनि दौरा सुरुवाल लगाउँछु । गाउँघरमा धेरैले दौरा–सुरुवाल नै लाउँछन् । खुकुरी र दौरा सुरुवालले नेपालीलाई वीर नेपाली, वीर गार्खाली भनेर संसारभर चिनाएको इतिहास बिर्सनुहुँदैन ।’ यस्तै नापी विशेषज्ञ बुद्धिनारायण श्रेष्ठ लेख्छन्– ‘दौरा–सुरुवाल, कोट र टोपीले राष्ट्रको चन्द्र–सूर्य अंकित राष्ट्रिय झन्डाले जस्तै नेपालको पहिचान बनाएको छ । राष्ट्रिय पोशाक भनेको राष्ट्रिय औपचारिक समारोहमा लगाउनुपर्ने पोशाक हो ।
 राष्ट्रप्रमुख तथा सरकार प्रमुखको औपचारिक वा राजकीय भ्रमणमा आफ्नो राष्ट्रको इज्जतको लागि राष्ट्रिय पोशाक अनिवार्य हुन्छ । तर औपचारिक, राजकीय भ्रमणमा तीनजना नेपाली पदाधिकारीको तीनथरीको भयो भने यसभन्दा लाजमर्दो केही हुँदैन ।’राष्ट्रिय पहिचानको रुपमा स्थापित आफ्ना पहिचान, मौलिकता भाषा, भेषभूषा तथा राष्ट्रिय पोशाकलाई हामी कसैले विवादमा ल्याउने काम नगरौं । नेपालका पहिचान मूल्य र मान्यताभन्दा अर्को प्यारो कुनै नेपालीलाई नहोला ।