प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य अवस्थामा पुग्न कम्तिमा एक वर्ष लाग्ने

चैत्र ०१,२०७६

-

चैत १,२०७६ काठमाडौं ।
मृगौलाका दीर्घरोगी, भरखरै मात्र दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएका, गणतन्त्र नेपालका शक्तिशाली तर विमार प्रधानमन्त्रीलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गर्दा जे जस्तो दृश्य देखियो, त्यसले एन्डरसनको माथि उल्लिखित कथालाई फेरि ब्युँताइदिएको छ, पुनःस्मरण गराइदिएको छ ।
 
‘बुद्धिमा बिर्को लागेकाहरु’मध्ये कसको ९कु०सल्लाहमा हो, विमार प्रधानमन्त्रीलाई पाखुरा समातेर ‘झ्याइँकुट्टी पारेको शैलीमा’ हिँडाएर गाडीसम्म ल्याउने अनि उनी ‘स्वस्थ’ र ‘खुसी’ रहेको भद्दा प्रहसन मञ्चन गर्ने काम भएको छ । 
 
थाहा छैन, यस कार्यमा प्रम केपी ओली स्वयंको इच्छा र चाहना कत्तिको मिसिएको छ तर केही दिनअघि मात्रै प्रम ओलीका मृगौला प्रत्यारोपण कार्यमा संलग्न चिकित्सकहरुले गरेको पत्रकार अन्तर्क्रिया कार्यक्रममा भनिएअनुसार पनि प्रम ओलीलाई त्यस तरिकाले लगिएको दृश्यलाई कुनै पनि हालतमा पचाउन सकिन्न ।
 
खासगरी, मुश्किलैले हिँड्न सकिरहेका र दुवैतिरबाट पाखुरा समातेर हिँडाइएको अवस्थामा पनि प्रम ओली झन्डै झन्डै लडेको दृश्य देख्दा टीठ पलाउने मात्रै हैन, त्यस्तो ‘कुबुद्धि’ राखेर सल्लाह दिनेप्रति रोष पनि उब्जन्छ ।
 
उनकै चिकित्सकहरुले भनेअनुसार पनि प्रमको स्थिति भनेको यतिखेर ‘इम्युनोकम्प्रोमाइज्ड’ को अवस्थामा छ । सबै कुरा ठीकठाक ढंगले अगाडि बढ्यो भने पनि उनलाई पूरै तंग्रिनका लागि अझै ६ महिनादेखि १ वर्षसम्म पनि लाग्न सक्छ । 
 
त्यही कारण नै उनलाई अप्रेशनको लगत्तै उनकै श्रीमती राधिका शाक्यसँग पनि भेटघाट गरिहाल्न नदिइएको र भरखर भरखरै मात्र उनले भेटन पाएको होला भन्ने कुरा स्वतः अनुमान गर्न सकिन्छ । अर्थात् दोस्रो पटक भरखरै गरिएको मृगौला प्रत्यारोपण, उनले खाइरहेका औषधीहरु र स्वयं प्रधानमन्त्रीको उत्तरार्धतिर लाग्दो उमेरका कारण पनि उनको शरीरको प्रतिरक्षा प्रणाली जम्मामा अत्यन्तै कमजोर छ ।
 
यस्तो अवस्थामा उनलाई संक्रमण हुन सक्ने कुनै पनि सानोभन्दा सानो सम्भावनाबाट र स्वास्थ्यका मान्य प्रोटोकलअनुसार संक्रमणरहित रहेको भनी विश्वस्त हुन सकिने अवस्थामा नरहेका व्यक्तिहरुसँगको सम्पर्क त के, निकटताबाट पनि अत्यन्तै संवेदनशीलताका साथ बचाउनु जरुरी छ । 
 
तर अस्पतालबाट उनलाई निवासतिर लगिँदा स्वास्थ्यको हिसाबले पालना गर्नैपर्ने त्यो सामान्य तर अति जरुरी प्रोटोकललाई पूरै मिचिएको छ, विशेषतः अहिले कोरोनाको अत्यन्तै संक्रामक महामारीले विश्वलाई नै संत्रस्त बनाइरहेको अवस्थामा त्यो हेलचेक्र्याइ कत्तिको घातक हुन सक्छ भन्ने कुरालाई पनि पूरै वेवास्ता गरिएको छ ।
 
संक्रमणप्रतिको संवेदनशीलताको हिसाबले मुखमा मास्क मात्रै लगाएका ‘भीडको झुण्ड’ले जसरी प्रमलाई घेरेको देखिन्छ, त्यसले भरखरै दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएका संवेदनशील रोगी अनि मुलुकका प्रधानमन्त्रीको स्वास्थ्यमाथि खेलवाड गर्ने खतरनाक काम भएको छ ।
 
थाहा छैन, सत्ताको चाकडी, प्रेसमा अनुहार देखाउने मोह वा कुन कारणले हो चिकित्सक वा स्वास्थ्यकर्मीहरुको सहयोगमा मात्रै गाडीसम्म ९अझ वेश त एम्बुलेन्समा लगिँदा पनि हुन सक्थ्यो० लगिइनुको सट्टा एउटा ठूलो भीडको ‘झुण्ड’ वरिपरि ‘थुपारेर’ उनलाई ‘जबरजस्ती ‘स्वस्थ्य देखाउने’ कसरत पनि भएको छ । 
 
सारा जगत्लाई थाहा छ, यतिखेर प्रम ओली विरामी छन्, त्यस अर्थमा सबैको सहानुभूति, सदभाव र शुभकामना उनीप्रति नै छन् । नेपालीहरुको संस्कार र सभ्यता नै हो कि अरु बेला जेजतिसुकै विमति, वैमन्यस्यता भएपनि आपतविपतमा खुच्चिङ गरिँदैन, बरु उल्टै सकेसम्म सहानुभूति, सहयोग र सद्भावका हातहरु अगाडि बढाइन्छन् । 
 
यस अर्थमा पनि यस्तो बेलामा प्रमलाई जबरजस्ती पाखुरा समातेर हिँडाइनुको कुनै तुक थिएन,  उनलाई त्यसरी दयनीय रुपमा हिँडाइनुको सट्टा ह्वीलचेयर वा स्ट्रेचरमा राखेर लगिएको भए पनि फरक पर्दैन थियो । वास्तवमा भन्ने नै हो भने गर्नुपर्ने पनि त्यही थियो ।