दैनिक खाद्यवस्तु घरघरमा पुर्‍याउन व्यवसायीहरुलाई गृहको निर्देशन

चैत्र १३,२०७६

-

चैत १३,२०७६ काठमाडौं ।
सरकारले दैनिक उपभोग्य वस्तु घरघरमा पुर्‍याउन उद्योगीरव्यवसायीहरुलाई निर्देशन दिएको छ । उद्योग वाणिज्य महासंघ, राजधानीमा सञ्चालित सुपरमार्केट, ग्रोसरी तथा अन्य होलसेल पसल सञ्चालकहरुलाई बोलाएर सरकारले उपभोक्ताको मागअनुसार लकडाउन अवधिभर घरघरमा खाद्यवस्तु पुर्‍याउन निर्देशन दिएको हो ।
 
 
गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले बिहीबार उद्योगीरव्यवसायी तथा राजधानीमा सञ्चालित सुपरमार्केटरग्रोसरी, खाद्य स्टोर तथा महानगरपालिकाका पदाधिकारीसग छलफल गरेको हो। गृहसचिव महेश्वर न्यौपानेले लकडाउन अधिभर उपभोक्तालाई आवश्यकताअनुसार सामान होम डेलिभरी गर्न र स्थानीय प्रशासनसग समन्वय गरेर पास लिन व्यवसायीलाई आग्रह गरेका थिए।
 
 
सामान किन्न जानेलाई भीडभाड नगरी पसल पुगेर फर्कन र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरिएको तर लकडाउन पालनामा अझै अटेर भइरहेकोले होम डेलिभरीलाई प्राथमिकतामा राखिएको हो । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले लकडाउन अवधिभर अत्यावश्यक खाद्यवस्तुको आपूर्ति, बिक्रीवितरण तथा व्यवस्थापन सहज बनाउन होमडेलिभरीको व्यवस्था गर्न लागिएको बताए ।
 
‘लकडाउन अवधिभर सर्वसाधारणलाई घरघरमा दैनिक उपभोग्य वस्तु डेलिभरी गर्न निर्देशन दिएका छौं, हाम्रो व्यवसायीहरुले सकारात्मक रुपमा लिँदै कार्यान्वयन गर्ने बताउनु भएको छ,’ शर्माले भने । व्यवसायीलाई होम डेलिभरीका लागि टोल फ्रि नम्बर, कार्यालयको नम्बर वा नजिकै रहेका वडा कार्यालयको नम्बरमार्फत उपभोक्तासँग सम्पर्क व्यवस्था मिलाउन पनि व्यवसायीलाई निर्देशन दिइएको शर्माले भने ।
 
उपभोग्य वस्तुको होमडेलिभरीमा महानगरपालिका, नगरपालिका तथा वडा कार्यालयहरुबाट सहजीकरण गर्न पनि निर्देशन दिइएको शर्माले बताए । ‘खाद्य पसलहरुलाई उपभोक्तासम्म कसरी पुर्‍याउने भन्ने सहजीकरण गर्न स्थानीय तहअन्तर्गतका वडा कार्यालय र खाद्य पसलहरुकै सम्पर्क नम्बरको व्यवस्था गर्न भनेका छौं,’ प्रवक्ता शर्माले भने, ‘व्यवसायीहरुले पनि छिट्टै होमडेलिभरीका लागि काम थाल्ने प्रतिबद्धता जनाइसकेका छन् ।’