कोरोना संक्रमणसँग जुधिरहेको नेपाललाई सहयोग गर्न चिनियाँ राष्ट्रपति सि लाई प्रचण्डको पत्र

चैत्र १६,२०७६

-

चैत १६,२०७६ काठमाडौं ।
 
सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको नेपाललाई सहयोग गर्न अपिल गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पत्र पठाएका छन् ।
 
तीन दिनअघि पठाइएको पत्रमा उनले कोरोना महामारी नियन्त्रण गर्न सफल भएकोमा राष्ट्रपति सीलाई बधाईसमेत दिएका छन्।
 
चीनले कोरोना संक्रमणलाई सफलतापूर्वक नियन्त्रण गरेको मैले मिडियाहरुका समाचारबाट थाहा पाएको छु, उनले पत्रमा भनेका छन्, कोरोना भाइरससँगको यो लडाइँमा जित हात पारेकोमा म नेकपाका तर्फबाट बधाइ दिन्छु। अध्यक्ष दाहालकी स्वकीय सचिव गंगा दाहालले उनले तीन दिनअघि पत्र पठाएको बताइन्। मार्च २६ को मिति राखिएको पत्र चिनियाँ दूतावासमार्फत् पठाइएको भने होइन।
 
पत्रमा उनले नेपाल अहिले यो महामारीसँग जुधिरहेको उल्लेख गर्दै सहयोगका लागि राष्ट्रपति सीलाई अपिल गरेका छन्। नेपाल यो महामारीसँग जुध्‍नका लागि तयार अवस्थामा नरहेको भन्दै उनले खासगरी औषधि र अन्य मेडिकल सामग्री सहयोग गर्न आग्रह गरेका छन्। उनले नेपाली जनता र नेकपाका तर्फबाट जतिसक्दो छिटो सहयोग गर्न पनि अपिल गरेका छन्।
 
गत वर्षको डिसेम्बरमा चीनको वुहानमा देखिएको कोभिड १९ अहिले संसारभर महामारीका रुपमा फैलिएको छ। चीनमा कारोना भाइरसबाट अहिलेसम्म करिब ८१ हजार संक्रमित भएका छन्।
 
तीमध्ये तीन हजार तीन सयको मुत्यु भएको छ। संक्रमितमध्ये ७५ हजारभन्दा बढी उपचारपछि निको भएर घर फर्केका छन्। करिब दुई हजार ६ सय जना अहिले विभिन्‍न अस्पतालमा उपचाररत रहेको चीनको राष्ट्रिय स्वास्थ्य विभागले जनाएको छ।