सहकारी स्वास्थ्य संस्थाहरुलाई विपद्‍मा जनताको सहकारी बन्न मन्त्री अर्यालको निर्देशन

चैत्र १७,२०७६

-

चैत १७,२०७६ काठमाडौं ।
विश्वब्यापी रुपमा फैलिदै गएको कोरोना भाइरसको संक्रमणका कारण नेपाल एक सातादेखि लकडाउनको अवस्थामा छ । यसै सन्दर्भमा कोभिड-१९ को संक्रमणबाट मानव जीवन रक्षाका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले सहकारी अभियन्ताहरुसँग छलफल गर्नुभएको छ । 
 
राष्ट्रब्यापी रुपमा मजबुत नेटवर्क भएको सहकारी संस्थाका विषयगत केन्द्रीय संघका अध्यक्षहरुसँग छलफल गर्दै मन्त्री अर्यालले राष्ट्रिय रुपमा आएको संकटमा अधिकतम उपयोग गर्न निम्नानुसारको निर्देशन दिनुभएको छ । मन्त्री अर्यालले सहकारी संस्थाद्वारा सञ्चालित सहकारी स्वास्थ्य अस्पतालहरुको अधिकतम परिचालन गर्न, सहकारी स्वास्थ्य संस्थाहरुबाट चलाइएको एम्बुलेन्सहरु बिरामीको ओसारपसारमा परिचालन  गर्न निर्देशन दिनुभएको छ ।
 
त्यस्तै मन्त्री अर्यालले स्थानीय प्रशासनसँग समन्वय गर्दै सहकारी बैंक, सहकारीहरु आंशिक रुपमा खोलेर जीविकोपार्जन, औषधोपचार जस्ता सेवाहरु प्रवाह गर्न निर्देशन दिनुभएको छ ।  आफ्ना शेयर सदस्यहरुको स्वास्थ्यलाई ध्यानमा राखेर आफू पनि बचेर शेयर सदस्यहरुलाई  सचेतनामूलक कार्यक्रम मार्फत सचेत गराउन समेत मन्त्री अर्यालले निर्देशन दिनुभएको छ । 
 
कोरोनाको संक्रमणका कारण मुलुक लकडाउनको अवस्थामा रहेका सन्दर्भमा मन्त्री अर्यालले ुमुलुक अहिले संकटमा छ । यस्तो विपद्‍को बेलामा सहकारी क्षेत्रको सहयोग अमूल्य रहन्छन् । यो अभियान सबैतिर फैलिएको छ । त्यसैले तपाईहरुले सेवामुखी भावनाले जनतालाई सहयोग गरी यो विपद्‍सँग लड्न राष्ट्रलाई सहयोग गर्नुस्, मन्त्री अर्यालले आग्रह गर्नुभयो ।  
 
यसअघि आइतबार सहकारी विभागले विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को संक्रमणबाट मानव जीवनको रक्षाका निम्ती सहकारी संस्थाहरुलाई ६ बुँदे परिपत्र गरिसकेको छ ।
 
त्यस अवसरमा यो परिस्थितीमा आउदै गरेको राष्ट्रिय सहकारी दिवस कसरी मनाउने भन्ने सन्दर्भमा पनि छलफल भएको थियो । बैठकले राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको संयोजकत्वमा दिवस मनाउनका लागि व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यहरुमा परितोष पौडेल, खेम पाठक, केबी उप्रेती, सुरेन्द्र भण्डारी, नारायण देवकोटा, ज्ञानबहादुर तामाङ, माधव दुलाल, केदार खड्का रहनुभएको छ ।