हामी कोरोनाको उच्च जोखिममा छौं, तपाईहरुले लकडाउनभर धैर्य गरिदिनुहोसः प्रधानमन्त्री

चैत्र २५,२०७६

-

चैत २५, २०७६ काठमाडौं ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना भाइरस (कोभिड-१९) संक्रमणको  दोस्रो चरणमा प्रवेश गरेकाले थप सजग हुनुपर्ने अवस्था आएको बताएका छन् । 
 
मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कञ्चनपुरमा एक स्थानीयमा कोरोना भाइरसको संक्रमण देखिएपछि दोस्रो चरणमा पुगेको बताएका हुन् ।
 
बाहिरबाट आएका संक्रमितबाट स्थानीयमा कोरोना संक्रमण सरेपछि दोस्रो चरणमा पुगेका छौं। यसबाट हामी थप जोखिममा छौं भन्ने देखाएको छ,प्रधानमन्त्रीले भने।
 
विदेशबाट आएकाले क्वारेन्टाइनमा नबसेकाले थप चिन्ता थपिएको छ। तत्काल क्वारेन्टाइनमा जानुस्। तपाईंका कारण परिवार, समुदाय र मुलुक नै जोखिममा पर्ने भएको छ,उनले भने। संक्रमणको जोखिमलाई न्यून गर्न सीमामा आएकालात्तई प्रवेश गर्न नदिइएको उनको भनाइ थियो। 
 
भारतबाट आएर सीमानामा रहेका २ हजार १४७ नेपालीलाई भारतमा नै राखिएको प्रधानमन्त्रीको भनाइ थियो। त्यस्तै भारतीय ७ भन्दा बढी नागरिकलाई नेपालमा नै व्यवस्थापन गरिएको उनले सुनाए।
 
कतिपय अनुसन्धान गर्ने संस्थाले नेपालले चालेका कदम विकसित मुलुकभन्दा प्रभावकारी रहेको भनेर प्रशंसा गरेको प्रधानमन्त्रीको भनाइ थियो।
 
उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको उच्चस्तरीय समितिले कोरोनाविरुद्धका सबै कामको नेतृत्व गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो।
 
स्थानीय तह र प्रदेश सरकारको भूमिका पनि यसबेला प्रभावकारी देखिएको प्रधानमन्त्रीको भनाइ थियो।
 
चिकित्सक, सुरक्षाकर्मीको प्रभावकारी भूमिका रहेको भन्दै प्रधानमन्त्रीले अझै जोखिमयुक्त क्षेत्रमा काम गर्नेको भूमिका अहम रहने बताए।