कोरोना उपचार कोषमा जम्मा गर्न प्रहरीको तलब कट्टा गर्ने तयारी !

चैत्र २६,२०७६

-

चैत २६,२०७६ काठमाडौं ।
 
प्रहरी प्रधान कार्यालय, नक्सालले सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको तीनदेखि सात दिनसम्मको तलब कट्टा गर्ने भएको छ ।
 
सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने उद्देश्यले नेपाल प्रहरीको आर्थिक प्रशासन महाशाखाले रकम जम्मा गर्न निर्देशन दिएको हो ।
 
कोरोना रोकथामका लागि लकडाउन कार्यान्वयनमा खटिएका सुरक्षाकर्मीलाई सरकारले अतिरिक्त भत्ताको घोषणा गरेका बेला प्रहरी प्रधान कार्यालयले तलब कट्टा गर्ने निर्णय गरेको जनाइएको छ ।
 
आर्थिक महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाद्वारा हस्ताक्षरित पत्रमा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मको तलब कोषमा जम्मा गर्नुपर्ने भनिएको छ ।