कोरोनाबाट लण्डनमा एक नेपालीको मृत्यु, बहराइनमा थप १० जना नेपालीलाई संक्रमण पुष्टि

चैत्र २७,२०७६

-

चैत २७,२०७६ काठमाडौं ।
 
बेलायतको लण्डनमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।
 
पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको  लण्डनको नर्थविक पार्क अस्पतालमा निधन भएको हो ।
 
तमुधीं युकेको लण्डन शाखाका वरिष्ठ उपाध्यक्ष गुरुङ समाजसेवीका रुपमा सक्रिय थिए । करिब दुई सातादेखि ज्वरो आएपछि चिकित्सकको सल्लाहअनुसार गुरुङ घरैमा आइसोलेसनमा बस्दै आएका थिए ।
 
श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आकस्मिक कक्षमा राखी पछि वार्डमा सारिएको थियो । भर्ना गरेको दुई दिनपछिबाट उनको स्वास्थ निकै खराब भएपछि भेन्टिलेटरमा राखिएको थियो ।
 
लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरणले मृतक गुरुङको परिवार र सम्बन्धित संस्थालाई निधनबारे जानकारी गराएका थिए । 
 
उता बहराइनमा थप १० जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।
 
बहराइनको मनामास्थित नेपाली दूतावासले  बिज्ञप्ति जारी गर्दै थप १० जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
 
 
योसँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या २२ पुगेको छ । यसअघि बहराइनमा १२ जना नेपालीमा सङ्क्रमण देखिएको थियो ।
 
बुधबार दिउँसो २ बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै दूतावस ५२ हजार ३५१ जनाको कोरोना परीक्षण गरिएकोमामा ३४९ जनामा संक्रमण देखिएको जनाएको छ । जसमा १० जना नेपालीमा संक्रमण देखिएको जनाउँदै योसँगै कोरोना संक्रमित नेपालीको संख्या २२ पुगेको जनाएको छ ।
 
दूतावासले बहराइनमा रहेका नेपालीहरुलाई सुरक्षित रहन समेत अपिल गरेको छ ।
रासस