सरकारले अनिवार्य गर्नुपर्ने यो काम किन गर्देन ?

बैशाख १७,२०७७

-

  •  विनोद त्रिपाठी--
 पछिल्ला दिनमा भारत कोरोनाको गंभिर जोखिम तर्फ उन्मुख छ । हामी भारतको खुल्ला सिमानाको चुनौती बर्षोंदेखि ब्यहोरिरहेका छौं । तमाम भारतवाट आउने जोखिम मध्ये अहिले प्रमुख रुपमा कोरोना भाइरस डरलाग्दो रुपमा छ । भारतमा दैनिक कोरोनाले दर्जनौं मानिस मरिरहेका छन् । 
 
 नेपालमा जति कोरानाका संक्रमित देखिए ९० प्रतिशत भारतबाट आएका मानिसमै देखिएको प्रमाणित भइसकेको छ । विश्व स्वास्थ्य संगठनले भारतलाई उच्च जोखिममा राखिसकेको छ भने नेपाल जोखिममा मात्र सिमित छ । नेपाल–भारतका संचालनमा रहेका २८ वटा नाका वाहेक पनि अन्य सयौं भुभागवाट मानिस आउजाउ गरिरहेका छन् । खेत, बारी, जंगल, नदि आदि स्थानबाट सहजै रुपमा स्थानीयको आउजाउले झन जोखिम बढाएको छ । यस तर्फ सरकारले विल्कुल ध्यान दिएको छैन । 
 
 अहिले भारतबाट उद्योगजन्य सामग्री आयात रोकिएपनि तरकारी, खाद्यान्न र फलफुल धमाधम आइरहेको सर्वविदितै छ । हरेक नाकाबाट आएका सुचनाका आधारमा ति सामग्री ल्याउने चालक र सहयोगीको सामान्य स्वास्थ्य जाँच बाहेक अन्य कुनै कडा निगरानी गरेका पाँइदैन । भारतबाट माछा आयात भइरहेको छ । माछा मासुमा कोरोना भाइरस लामो समय रहने विज्ञहरुले बताइरहँदा नेपाल सरकार किन यस्ता कुरामा संवेदनशिल हुँदैन ? यो तुरुन्त रोक्नुपर्छ । नेपालको भारत मित्र राष्ट्र हो । हाम्रा  ऐतिहासिक सम्बन्ध छन् ।
 
अधिकांश बिषयमा अहिले पनि हामी भारतकै निर्भरमा छौं । यो हाम्रो परिवेशजनक बाध्यता हो । कोरोना भाइरस पुर्ण नियन्त्रणमा आएपछि हामीले पुर्ववत अबस्थामा भारतबाट सामग्री आयात निर्यातमा सहजता अपनाउनैपर्छ । तर, अहिले नेपाल सरकारले निम्न कदम चाल्नु अनिवार्य छ ।
 
१, नेपाली किसानका तरकारी, फलफुल, दुग्धजन्य पदार्थ विक्री नभएर खेर गइरहेको छ । तुरुन्त नेपाली किसानका उत्पादनलाई बजार प्रबद्र्धन गर्न सरकारले पहल गर्नुपर्छ । कोरोना भाइरस नियन्त्रण नभएसम्म भारतबाट आयात हुने यी सामान पुर्ण रुपमा रोक्नुपर्छ । 
 
२, नेपाल–भारतको ८८५ किमी लामो खुल्ला सिमानाका हरेक खण्डमा नेपाली सुरक्षकर्मीको उपस्थिति अनिवार्य छ । सरकारले सबैभन्दा अनिवार्य गर्नुपर्ने काम यहि हो ।
 
३, भारतमा रहेका नेपालीहरु सिमानामा अझै अलपत्र छन् । उनिहरुले निकै दुख पाएका छन् । भारतको केन्द्रीय सरकार र राज्य सरकारसंग कुरा गरेर ति नेपालीको त्यहीं आबस्यक पुर्वाधार भएका क्वारेन्टाइनमा राख्ने प्रबन्ध गर्नुपर्छ ।
 
४, मानिस वाहेक हरेक सामानबाट सजिलै कोरोना भाइरस फैलिने विज्ञहरुले बताइसकेका छन् । यस तर्फ गंभिर ध्यान दिएर भारतबाट आयात सामानको जाँच र अनिवार्य भाइरस निर्मलीकरणका विधी हरेक नाकामा गर्न जरुरी छ ।
 
५, कोरोना भाइरस चीनमा फैलने वित्तिकै भियतनाम, ताइवान लगायतका मुलुकले सिमाना बन्द गरे । सामान आयात निर्यातमा कडाई गरे । तर, यी लगायत धेरै मुलुकले लकडाउन नलाईकनै कोरोना संक्रमणबाट धेरै हदसम्म नागरिकलाई जोगाउन सफल भए । ९ करोड भन्दा बढि जनसंख्या रहेको भियतनाममा अन्य देशको तुलनामा निकै कम कोरोना संक्रमित देखिए । सिमाना बन्द गरेरै लकडाउन नलगाइकनै भियतनामले कोरोना नियन्त्रण गरिरहेको छ । सिमाना बन्द गरेरै भियतनाम लगायतका देशले कोरोनालाई जितिरहेका छन् । अब, नेपालले भारतका सिमाना पुर्ण रुपले बन्द नगर्ने हो भने तराई क्षेत्र भारतसंगै कोरोना पीडित नहोला भन्न सकिन्न । सरकारले सिमाना बन्द गरेर पहाडका सुरक्षित जिल्ला र शहरहरुमा आन्तरिक लकडाउन खुलाउन सक्छ । तर, नेपाल–भारत सिमाना कोरोना नियन्त्रण नभएसम्म पुर्ण रुपमा बन्द हुन आबस्यक छ ।  
(बरिष्ठ पत्रकार त्रिपाठी विजनेश प्लस टेलिभिजनका प्रधान–सम्पादक हुन् । यो लेख उनको फेसवुकवाट साभार गरिएको हो.सं ।)