संविधान संशोधन प्रस्ताव आजको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्ने तयारी

जेठ १८,२०७७

-

जेठ १८, २०७७ काठमाडौं ।
सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव आइतबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्ने तयारी भएको छ ।
 
संसदको आइतबारको सम्भावित पहिलो कार्यसूचिमा नै संविधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने उल्लेख रहेकाले आज संसद बैठकमा संविधान संसोधन विधेयकमा छलफल हुने सम्भावना रहेको हो ।
 
यसअघि गत बुधबार नै संविधान संशोधन प्रस्ताव प्रस्तुत हुने भनिए पनि संशोधनमा कांग्रेसले पार्टीबाट आधिकारिक निर्णय नगरेको भन्दै अन्तिम समयमा आएर कार्यसूचिबाट हटाइएको थियो ।
 
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले शनिबार अबेर राति संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।
 
बिहान ११ बजेका लागि बोलाइएको बैठकमा संशोधन प्रस्ताव प्रस्तुत भएपछि शुक्रबार संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमाथि छलफल सुरु हुनेछ ।
 
सरकारले यही जेठ ९ गते संविधानको अनुसूची ३ मा रहेको नेपालको नक्सामा लिम्पियाधुरासहित समेटिने गरी संशोधन प्रस्ताव दर्ता गरेको थियो ।