लकडाउन नमान्‍ने कर्णालीका व्यवसायीको घोषणा, यार्सा संकलन र विद्यालय खोल्न प्रदेशको सिफारिस

जेठ २०,२०७७

-

जेष्ठ २०,२०७७ काठमाडौं ।
कर्णालीका व्यापारीरव्यवसायीले बुधबारदेखि लकडाउन नमान्ने घोषणा गरेका छन् । प्रदेश सरकारले समेत विद्यालय र यार्चा संकलन खोल्ने निर्णयको लागि संघीय सरकारलाई अनुरोध गरेको छ ।
 
सुर्खेत उद्योग वाणिज्य संघले बुधबारदेखि लकडाउन नमान्ने निर्णय गरेको छ । संघले मंगलबार प्रेस विज्ञप्ति प्रकाशित गरी लकडाउनका कारण निजी क्षेत्र धराशायी भएको र राहत दिन सरकारले कुनै पहल नगरेकाले यस्तो निर्णयमा पुग्नुपरेको बताएको छ । 
 
संघका अध्यक्ष धनबहादुर रावत र महासचिव लक्ष्मण कँडेलद्वारा जारी विज्ञप्तिमा जेठ २१ गते (बुधबार) देखि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सुरक्षा सावधानी अपनाउँदै सम्पूर्ण पसल खोल्ने उल्लेख छ । फलफूल, तरकारी, डेरी, ग्यास पसलहरु भने बिहान ५ देखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ८ बजेसम्म सञ्चालनमा रहने विज्ञप्तिमा उल्लेख छ । ‘शनिबारको दिन भने सम्पूर्ण पसल बन्द रहनेछन्,’ विज्ञप्तिमा भनिएको छ ।
 
सोमबारमात्र सुर्खेतमै घर भएका हिरालाल रेग्मी प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका छन् । कार्यकालको सुरुमै व्यापारीरव्यवसायीबाट भएको यस्तो निर्णयले उनलाई अप्ठेरो पारेको छ । 
 
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले निर्णय फिर्ता लिई लकडाउन कार्यान्वयन गराउने विषयमा छलफल भइरहेको बताए ।
 
यार्सा संकलन र विद्यालय खोल्न सिफारिस
 
आइतबारमात्र कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणको जोखिम कम देखिएका हिमाली जिल्लामा विद्यालय खोल्न र यार्चा संकलन खुला गर्ने व्यवस्था मिलाउन संघीय सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकमार्फत यस्तो सिफारिस गरिएको हो ।
 
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले संक्रमणबाट सुरक्षित देखिएका हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटमा सुरक्षा सावधानीसहित विद्यालय सञ्चालन गर्ने निर्णयको लागि नेपाल सरकार र कोभिड-१९ विपद् व्यवस्थापन केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
 
बैठकले भारतबाट आएका व्यक्तिलाई प्रवेश नदिने गरी जेठ २५ बाट यार्चा संकलन खुला गर्न पनि अनुरोध गरेको छ । यसको लागि भारतबाट आउने हुम्ला, डोल्पा र मुगुका नागरिकलाई सुर्खेतमै क्वारेन्टाइनको व्यवस्थापन गर्ने सरकारको तयारी छ ।
 
जेठ १३ गतेमात्र भारतबाट आएका सुर्खेत अवचिङका एक व्यक्तिको सयमयमै उपचार नपाउँदा मृत्यु भएको थियो ।