मजदुरहरुको चुल्हो बल्न छाडिसक्यो लकडाउनमा के को कर ? कांग्रेस नेता शेखर कोइराला

जेठ २१,२०७७

-

जेठ २१, २०७७ काठमाडौं ।
 
सरकारले जेठ २५ गतेभित्र कर नतिरे जरीवानासमेत असुल्ने सूचना जारी गरेपछि कांग्रेस नेता डा।शेखर कोइरालाले त्यसको विरोध गरेका छन् ।
 
बुधबार ट्वीटमार्फत सरकारको विवेक र दायित्वमाथि डा. कोइरालाले प्रश्न उठाएका छन् ।
 
उनले भनेका छन्-‘सरकार एकातिर जेठ ३२ गतेसम्म लकडाउन घोषणा गर्छ, अर्कोतिर जेठ २५ सम्म कर बुझाउ भन्दैछ । उद्योग कलकारखान ठप्प छ । श्रमजीवि मजदुरहरुको चुल्हो बल्न छाडिसक्यो । ब्यापार ब्यवसाय चौपट छ । यही हो सरकारको विवेक रु नागरिकप्रतिको दायित्व यही हो ।’
 
आन्तरिक राजस्व विभागले मंगलवार सार्वजनिक सूचनामार्फत जेठ २५ सम्म मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम २०७६ साल फागुन र चैत महीनाको मासिक कर विवरण, माघ र फागुन महीनाको र मंसिर फागुनको चौमासिक कर विवरण बुझाउन करदातालाई ताकेता गरेको थियो ।
 
विभागले मंगलवार जारी गरेको सूचनामा जेठ २५ सम्म राजस्व नबुझाएमा सामान्य अवस्थामा जस्तै अर्को दिनदेखि जरीवाना लाग्ने भनिएको छ । उक्त सूचना प्रकाशित भएपछि उद्योग बाणिज्य संघले पनि विरोध जनाएको छ ।
 
बन्दाबन्दीका कारण मुलुकभर आर्थिक गतिविधि ठप्प भइरहेको समयमा सरकारद्वारा कर तथा करको विवरण बुझाउन करदातालाई ताकेता गर्नु बेइमानी भएको व्यावसायीहरुको भनाइ छ ।
 
नेपाल उद्योग वाणिज्य महासंघले कर विवरण र कर रकम हाल बुझाउन कठिन भएको बताउँदै कर तिर्ने म्याद थप गरिदिन सरकारसँग माग गरेको छ ।