संघीयता खारेजीको माग गर्दै जनमोर्चाद्वारा संविधान संशोधन विधेयक दर्ता

जेठ २१,२०७७

-

जेठ २१,२०७७ काठमाडौं ।
 
राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै संविधान संशोधन विधेयक दर्ता गरेको छ । जनमोर्चाकी सांसद दुर्गा पौडेलले बुधबार गैर सरकारी विधेयकका रूपमा संविधान संशोधन विधेयक दर्ता गरेकी हुन् । 
 
यससँगै संविधान संशोधनको चौथो विधेयक संसदमा दर्ता भएको हो । सरकारले नेपालको नक्साअनुसार निशान छापमा रहेको नक्सा सच्याउन संविधान संशोधन विधेयक दर्ता गरेको थियो । उक्त विधेयक संशोधनको प्रक्रियामा गइसकेको छ ।
 
त्यसपछि समाजवादी र राजपाले पनि आफ्ना माग सम्बोधन हुनुपर्ने भन्दै संविधान संशोधनको गैरसरकारी विधेयक दर्ता गरेका छन् भने कांग्रेसका ८ जना सांसदले मंगलबार संविधान संशोधन विधेयक दर्ता गरेको थियो ।
 
मुलुकको विकास नहुनुको प्रमुख कारक संघीयता रहेको भन्दै जनमोर्चाले संविधानमा रहेको संघीयताको व्यवस्था हटाउनुपर्ने विधेयकमा उल्लेख गरेको छ । देशले संघीयता धान्न नसक्ने भएकाले केन्द्रीय र स्थानीय तह कायम हुनेगरी संविधान संशोधन गर्न विधेयक दर्ता गरिएको पार्टीका अध्यक्ष चित्रबहादुर केसीले बताए । 
 
संघीयता खारेज गरी स्थानीय निकायलाई बलियो बनाउने गरी अधिकार प्रदान गर्नुपर्ने उनको भनाइ थियो । जनमोर्चाले संघीयताको विरोध गर्दै आएको छ ।