बेलायतमा कोरोना भाइरसविरुद्धको नयाँ खोप मानवमा परीक्षण सुरु

आषाढ ११,२०७७

-

असार ११,२०७७ काठमाडौं ।
कोरोनाभाइरसविरुद्ध यूकेमा विकास गरिएको एउटा नयाँ खोपको मानवमा परीक्षण सुरु गरिएको छ।
 
परीक्षणमा सहभागी हुने स्वयंसेवकहरूमा उक्त खोपले प्रतिरक्षा क्षमता बढाउन सक्छ कि भनेर हेर्न खोजिएको हो।
 
परीक्षणका लागि आगामी साताहरूमा झन्डै ३०० मानिसलाई त्यो खोप लगाइनेछ।
 
इम्पीरीअल कलेज लन्डनमा सुरु गरिएको परीक्षणको नेतृत्व प्राध्यापक रोबिन शाटोक र उनका सहकर्मीहरूले गरेका छन्।
 
जनावरहरूमा गरिएको परीक्षणले उक्त खोप सुरक्षित भएको र प्रतिरक्षा प्रणालीलाई सबल बनाउन प्रभावकारी देखिएको छ।
 
अक्स्फर्ड विश्वविद्यालयका विशेषज्ञहरूले पनि यसअघि नै यस्तै किसिमको खोपको मानव परीक्षण सुरु गरिसकेका छन्।
 
अहिले विश्वभरि झन्डै १२० वटा खोप विकास कार्यक्रमहरू चलिरहेका छन्।
 
पहिलो चरणको परीक्षणपश्चात् आगामी अक्टोबरमा अर्को चरणको परीक्षण गर्ने योजना छ। त्यसमा ६,००० मानिसहरू सहभागी हुनेछन्।
 
इम्पीरीअल कलेजको समूहले उक्त खोप सन् २०२१ को आरम्भमा यूके र विदेशमा वितरण सुरु हुने अपेक्षा गरेको छ।
 
यसैबीच ड्यूक अफ केम्ब्रिज राजकुमार विलियमले चर्चिल अस्पतालमा अक्स्फर्ड विश्वविद्यालयको परीक्षणमा सहभागी स्वयंसेवकहरूलाई भेटेका छन्।
 
राजकुमारले स्वयंसेवकहरूको प्रशंसा गर्दै उनीहरूले गरिरहेको काम अत्यन्त रोमाञ्चक र स्वागतयोग्य भएको बताए। बीबीसी