महाधिवेशनको कार्यतालिका अनुमोदनका लागि काँग्रेसले बोलायो कार्यसमिति बैठक

आषाढ १४,२०७७

-

असार १४,२०७७ काठमाडौं।
 
नेपाली काँग्रेसले १४ औँ महाधिवेशनको परिमार्जित कार्यतालिका अनुमोदनका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । 
 
काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आगामी मंगलबार दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठकमा पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि आमन्त्रण गरिएको जानकारी दिए ।
 
आइतबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले कोरोनाका कारण प्रभावित भएको १४औँ महाधिवेशनको कार्यतालिका परिमार्जन गरेर गतिविधि अघि बढाउनेबारे निर्णय गरेको छ । त्यसलाई मंगलबारको केन्द्रीय समिति बैठकले अनुमोदन गर्नेछ ।
 
काँग्रेसमा ०७७ फागुन ७-१० सम्म १४ औँ महाधिवेशन गर्ने गरी भइरहेको गतिविधिमा कोरोना सन्त्रासले ब्रेक लागेको थियो । पदाधिकारी बैठकले फागुन ७ मा नै १४ औँ महाधिवेशन गर्ने गरी कार्यतालिका परिमार्जन गरेको छ । जसअनुसार असार २५ गतेबाट क्रियाशील सदस्यता वितरण र नविकरणको कार्य सुरु गर्ने बैठकले निर्णय गरेको नेता गोपालमान श्रेष्ठले जानकारी दिए ।
 
कोरोना महाकारीलाई मध्येनजर गरी गत चैत ९ गतेदेखि लागु हुनेगरी काँग्रेसले क्रियाशील सदस्यता वितरण र नविकरण स्थगन गर्दै सचेतना अभियानमा सकृय हुने पार्टीपंक्तिलाई निर्देशन दिएको थियो ।
 
कोरोनाले उक्त गतिविधि नरोकिएको भए आजसम्म क्रियाशील सदस्यताको नविकरण र वितरण गरिसकेर त्यसको छानबिनको प्रक्रियामा सुरु हुने थियो । त्यसलाई मिलाउन काँग्रेसले कार्यतालिका परिमार्जन गरि महाधिवेशनको गतिविधि बढाउने भएको छ ।