कोरोनाले साथ दिए फागुनमा महाधिवेशन गराईछाड्ने सभापति देउवाको जोड

आषाढ १५,२०७७

-

असार १५,२०७७ काठमाडौं ।
 
नेपाली काँग्रेसले कोरोना सङ्क्रमणका कारण प्रभावित पार्टीको १४ औँ महाधिवेशन निर्धारित मितिमै गर्नेगरी छलफल अघि बढाएको छ । 
 
कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी गत ९ चैतबाट महाधिवेशनका गतिविधि स्थगित गरेको थियो ।
 
आइतबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले कार्यतालिका परिमार्जन गरी असार तेस्रो साताबाट महाधिवेशन गतिविधि अघि बढाउने प्रस्ताव ल्याएका छन् ।
आइतबार पदाधिकारी बैठकमा उक्त प्रस्तावमाथि पार्टीको निर्वाचन कार्यसमितिका सदस्यलाई राखेर काँग्रेस शीर्ष नेताहरुले ३ घण्टा छलफल चलाएको थिए । कोरोनाको बहानामा संस्थापन पक्षले महाधिवेशन सार्ने रणनीति बुनिरहेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सशंकित थियो ।
 
तर बैठकमा सभापति शेबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशन ०७७ फागुन ७ गते नै उद्घाटन गरी सफलतापूर्वक सम्पन्न गर्न चाहेको सुनाए ।
 
२०७८ मा हुने स्थानीय तहको निर्वाचनमा पार्टी केन्द्रित हुनुपर्ने भएकाले महाधिवेशन फागुन ७ गते उता सार्ने पक्षमा नरहेको देउवाले भनाइ थियो । 
 
महाधिवेशनका लागि दैनिक १८र२० घण्टा काम गरेर भए पनि तोकिएको मितिमा महाधिवेशन सम्पन्न गर्न कार्यतालिका परिमार्जन गरेर जाँदा समस्या नहुने बताएका थिए । तर वरिष्ठ नेता पौडेलले स्थानीय तहसम्बन्धी अधिवेशन पूर्वनिर्धारित समयमा गर्नेगरी अन्य कार्यलातिका मात्र परिमार्जन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
 
निर्वाचन कार्यसमितिका सदस्यहरुले पौडेलेको प्रस्ताव व्यावहारिक हुन कठिनाइ हुने बताएपछि बैठकमा सबै पदाधिकारीले सभापति देउवाको प्रस्तावमा समर्थन जनाएका थिए ।
 
महाधिवेशनको कार्यातालिका परिमार्जनमा सबै नेता सहमत भएपछि महामन्त्री खड्काले प्रस्तुत गरेको प्रस्ताव केन्द्रीय कार्यसमितिमा छलफलपछि अनुमोदन गराउने निष्कर्षमा पदाधिकारी बैठक पुगेको हो ।