स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई मात्रै उपत्यका छिर्न दिने सीसीएमसीको निर्णय

आषाढ १५,२०७७

-

असार १५, २०७७ काठमाडौं ।
 
कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले अनिवार्य होम क्वारेन्टिनमा बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको छ ।
 
 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्डअनुसार स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आए र होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धता भएमात्रै उपत्यका भित्रिन दिने निर्णय सीसीएमसीले गरेको हो । 
 
सोमबार बसेको सीसीएमसीको बैठकले स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार १४ दिन होम क्वारेन्टिनमा बस्नेगरी स्थानीय तह र प्रहरीको सिफारिस लिएर आउन दिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए । 
 
हवाई तथा स्थलमार्गबाट आउने सबैमा सो निर्णय लागू हुने गुरागाइँले बताए ।  सीसीएमसीले क्वारेन्टिनहरुमा स्वास्थ्य सामग्री वितरण गर्न मन्त्रालयको अनुमति पनि अनिवार्य गर्ने निर्णय गरेको छ । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेहरुका लागि स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको छ ।
 
यस्तै विमानस्थलका कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रतिव्यक्ति २ जोरका दरले वितरण गर्ने पनि निर्णय गरेको छ । यस्तै आमा र बच्चा नेपाली नागरिकताधारी र बुबा विदेशी पासपोर्ट भएकाहरुको भिसा सहजीकरणका लागि निर्णय गर्न सीसीएमसीले मन्त्रिपरिषदलाई सिफारिस गर्ने भएको छ ।