उपत्यकाका तीनै जिल्लाहरुमा सलह देखिए

आषाढ १६,२०७७

-

असार १६,२०७७ काठमाडौं ।
भारतबाट बारा प्रवेश गरेको सलह झुन्ड ३ दिनपछि काठमाडौं आइपुगेको छ । काठमाडौं उपत्यकाका तीनै जिल्लाहरुमा सलह देखिएका छन् ।
 
प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ किट विज्ञ रामकृष्ण सुवेदीले असार १३ गते बारामा देखिएको झुन्ड टुक्रिदै काठमाडौं प्रवेश गरेको  बताए ।
 
बाराबाट झुन्ड टुक्रिएर मकवानपुर पुगेको र त्यहाँबाट पनि टुक्रिएर चितवन पुगेको छ र चितवनबाट उक्त झुन्ड टुक्रदै धापाखेल हुँदै उपत्यका प्रवेश गरेको हो । सुवेदीका अनुसार हावाको बहावसँगै चितवनबाट टुक्रिएको झुन्ड मकवानपुरको डाँडामाथि हुँदै काठमाडौं प्रवेश गरेको हो ।
 
सलहका झुन्ड सानो भएकाले ती झुन्डहरुले अहिलेसम्म कतै क्षति नगरेको उनले बताए । बसेको ठाउँमा खानेकुरा खाने गरे पनि पहाडी क्षेत्रमा पुगेको सलहको झुन्ड जंगलमा क्षेत्रमा बास बस्‍ने गरेको उनले सुनाए । उपत्यकामा देखिएका सलहरुलाई कागलगायत चराचुरुंगीहरुले आहारा पनि बनाएका छन् ।