प्रधानमन्त्री ओलीलाई पार्टी कमिटीको निर्णय मानेर अघि बढ्न मन्त्रीहरुको सुझाव

आषाढ १७,२०७७

-

असार १७,१०७७ काठमाडौं ।
सरकारका मन्त्री र नेकपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी कमिटीको निर्णय मानेर अघि बढ्न सुझाव दिएका छन् । 
 
सत्तारुढ नेकपाको जारी स्थायी कमिटी बैठकमा मंगलबार शीर्ष नेताहरुसहितले ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा मागेपछि सल्लाहका लागि उनले बुधबार बोलाएको बैठकमा प्रधानमन्त्री ओलीलाई ुअधिकांश नेता र मन्त्रीहरुले पार्टी कमिटीले गरेको निर्णय स्वीकार्छु भनेर अघि बढ्न सुझाव दिएको पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए ।
 
बैठकमा सहभागीहरूका अनुसार प्रधानमन्त्रीले सोधेका थिए, पार्टीभित्रका समस्या, संकट कसरी हल गर्ने ? सरकारलाई कसरी प्रभावकारी बनाउने ? सरकारका कामहरूलाई कसरी चुस्त बनाउने ? पार्टीभित्र एकता कायम गर्ने कुरामा के सुझाव छन् । प्रधानमन्त्रीले मन्त्री, नेताहरूसँग सुझाव मागेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले बताए ।
 
बैठकमा मन्त्री भट्टराईले भने अध्यक्षद्वय मिलेर जानुपर्ने बताएका थिए । दुवै अध्यक्षले मृत्युलाई जितेर आएकाले पार्टीभित्र देखिएका समस्या हल नहुने भन्ने नभएको उनको भनाइ थियो । 
 
कृषि मन्त्री घनश्याम भुसाललगायत केही मन्त्रीले प्रधानमन्त्रीलाई अप्ठेरो परेको खण्डमा आफूहरुलगायत मन्त्रिपरिषद्का आधाजति मन्त्री राजीनामा दिन तयार रहेको पनि बताएका थिए ।
 
छलफलको सुरुमै प्रधानमन्त्री ओलीले आफूलाई कर्नर गरिएको अपमानित गरिएको बताएका थिए । उनीपछि बोल्दै भुसालले ओलीका विषयमा आफ्नो मूल्यांकन सुनाएका थिए । 
 
तपाईं कमिटीको कुरा मान्छु भनेर अघि बढ्नुस् कमिटीले सबैको मानमनितो राखिदिनेछ भनेर आफूले छलफलमा कुरा राखेको मन्त्री भुसालले बताए ।
 
छलफलमा सुवास नेम्वाङ, मणि थापा, लेखराज भट्ट लगायतका नेताहरुले पनि पार्टी एकताका लागि प्रधानमन्त्रीले फराकिलो सोच राख्नुपर्ने सुझाव दिएका थिए ।