पार्टीभित्रको विवाद समाधानका निम्ती प्रधानमन्त्री ओली र प्रचण्ड छलफलमा

आषाढ १९,२०७७

-

असार १९,२०७७ काठमाडौं ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल सुरु भएको छ । उनीहरुबीचको छलफललाई चासोका साथ हेरिएको छ ।
 
असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपा विवाद उत्कर्षमा पुगेको छ ।
 
अर्कोतर्फ पार्टी बैठक चलिरहेको बेला बिहीबार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकबाट संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेलगत्तै बैठक नै प्रभावित भएको छ ।
 
प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र पार्टी फुटाउन लागेको आशंका अरु नेताहरुलाई भएपछि जारी स्थायी कमिटी बैठक एक दिनलाई स्थगित गरेर सहमतिको लागि अधिकतम प्रयास गर्ने निर्णय नेकपाले गरेको थियो ।
 
शनिबार स्थायी कमिटी बैठक बस्नु अघि पार्टीमा देखिएको संकट समाधानका लागि पहिला दुई अध्यक्षबीच छलफल गर्ने निर्णय भएको थियो ।