स्थायी कमिटी बैठक अघि विवाद मिलाउन भन्दै बिहानैदेखी नेकपाका नेताहरु छलफलमा

आषाढ २०,२०७७

-

असार २०,२०७७ काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद मिलाउन आज पनि नेताहरु छलफलमा जुट्दैछन् ।
 
पार्टी स्थायी कमिटी बैठकअघि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदैछ । 
 
हिजोको छलफलले सहमति नजुटाए पनि दुईबीचको आपसी तिक्तता हटाएको नेताहरुको दावी छ । हिजोको छलफलमा सहमतिको मिलनबिन्दुको खोजी गर्न दुवै अध्यक्ष सहमत भएका छन् । तर दुवै आआफ्नै अडानमा छन् । 
 
प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद कुनै हालतमा पनि नछोड्ने अडान लिनुभएको छ भने अर्का अध्यक्ष प्रचण्डले दुईमध्ये एक पद छोड्न सुझाव दिनुभएको छ । 
 
ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने तर २०७६ मंसिर ४ को सहमतिअनुसार अघि बढ्न सकिने बताउनुभएको छ । मंसिर ४ को सहमतिमा ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्डले कार्यकारी हैसियतमा पार्टी चलाउने भन्ने उल्लेख छ । 
 
तर मंसिर ४ को यो सहमति ओलीकै कारण कार्यान्वयन नभएको भन्दै प्रचण्डले २०७५ जेठ २ को सहमतिअनुसार अघि बढ्नुपर्ने अडान लिनुभएको छ । यो सहमतिमा दुवै अध्यक्षले आलोपालो सरकारको नेतृत्व गर्ने भन्ने उल्लेख छ । 
 
दुवै अध्यक्ष आआफ्नै अडानमा रहेकाले हिजोको छलफल सहमतिमा पुग्न नसकेको हो । सहमति खोज्नकै लागि स्थायी कमिटी बैठक आजसम्मको लागि स्थगित गरिएको थियो । आज स्थायी कमिटी बैठकअघि दुई अध्यक्ष र अरु नेताहरुबीच पनि छलफल हुने नेकपाले जनाएको छ । 
 
पार्टी एकतालाई जोगाउन र सहमतिका साथ अघि बढ्न नेकपाका दोस्रो पुस्ताका नेता र कार्यकर्ताले पनि नेतृत्वलाई दबाब दिइरहेका छन् । 
 
स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको राजीनामाको माग उठेपछि नेकपाभित्र विवाद बढेको हो । ओलीले पार्टी र सरकारको नेतृत्वबाट राजीनामा दिनैपर्ने प्रचण्ड र नेपाल समूहको अडान तथा राजीनामा दिन नहुने ओली समूहको अडानले नेकपाको स्थायी कमिटी बैठकसमेत प्रभावित भएको छ ।