परीक्षणका लागि मेलम्ची खोलाको पानी सुरुङभित्र पठाउन सुरु

आषाढ २१,२०७७

-

असार २१,२०७७ काठमाडौं ।
मेलम्ची खोलाको पानी सुरुङभित्र पठाउन सुरु गरिएको छ ।  निर्माण सम्पन्न भएको सुरुङमार्ग विस्तृत परीक्षणका लागि खोलाबाट सुरुङभित्र पानी पठाउन थालिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
आइतबार बिहान साढे ९ बजे खोलामा बाँधिएको अस्थायी बाँधमार्फत सुरुङभित्र पानी पठाउन सुरु गरिएको हो ।  आयोजनाका अनुसार सुरुङमा पानी हालेपछि परीक्षण गर्दै सुन्दरीजलसम्म पानी आइपुग्न १५ देखि २० दिन लाग्छ ।  खोलादेखि सुन्दरीजलसम्म सुरुङमा पानी पठाएर क्रमशः परीक्षण हुन्छ  ।
यसैगरी काठमाडौंमा पानी झार्नका लागि झन्डै २ महिनासम्म परीक्षण गर्न समय लाग्ने र यो बीचमा सुरुङमा पानी भर्दै खाली गर्दै गर्नुपर्ने र विस्तृत रुपमा जाँच गर्नुपर्ने हुन्छ। 
 
आज सुरुमा खोलाबाट झन्डै १ किलोमिटर सुरुङमार्ग पानीले भरेर अडिट टनेलमार्फत पुन खोलामै पानी झारिँदै छ । खोलाबाट अम्बाथान अडिटसम्म पानी पठाएर परीक्षण थालिएको हो ।
 
भोलि अम्बाथानको अडिट टनेलको ढोका बन्द गरेर सुरुङमार्गतर्फ पानी पठाइँदैछ । आउँदो पुससम्म खोलामा स्थायी बाँध बाधिसक्ने र त्यसअघि अस्थायी बाँधबाट पानी पठाइने छ । 
 
सुरुङको गेट तथा सञ्चालन प्रविधि जडान सम्पन्न गरेपछि पानी पठाएर परीक्षण थालिएको हो । इटालियन ठेकेदार कम्पनीले बाँकी छोडेर गएको काम हाल चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले गरिरहेको छ । सो कम्पनीलाई आगामी पुसको दोस्रोसाता भित्र काम सम्पन्न गर्न अन्तिम समयसीमा दिइएको छ ।