नेकपा विभाजन भए गणतन्त्र खतरामा पर्छ :रायमाझी

आषाढ २१,२०७७

-

असार २१,२०७७ काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अहिले सरकार परिवर्तन गर्ने कुरा स्विकार्य नहुने स्पष्ट पारेका छन् । 
 
पार्टीभित्रको विवाद समाधानको लागि शीर्ष नेताहरुले आपसी सहमति कायम गर्नुको विकल्प नभएको उनको भनाई छ । 
आइतबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै उनले नेकपाभित्रको विवाद कसरी समाधान हुन्छ ? भनेर यतिवेला सारा नेपाली जनता, नेकपाका नेता÷कार्यकर्ताहरुले चासो र चिन्ताका साथ हेरिरहेको पनि सुनाए । 
 
उनले पार्टीभित्र अहिले देखिएको आन्तरिक विवाद नीति, विचार र विकास र समृृद्धिको एजेण्डाभन्दापनि शक्ति बाँडफाँडमा बढि केन्द्रीत रहेको स्पष्ट पारे । उनले भने,‘अहिले नेकपाभित्रको विवाद खासगरी पावर सेयरिङमा सम्बन्धित छ । यही विषयले उचाई लिईरहेको छ । 
 
अहिलेको बहस एजेण्डामा भन्दापनि कसरी सरकार परिवर्तन गर्ने भन्नेमा केन्द्रित रहेको छ ।’
रायमाझीले लामो समयपछि नेपाली जनताले दुई तिहाई बहुमत दिएर मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न र विकास र समृद्धिको एजेण्डालाई अघि बढाउन नेकपालाई सरकारमा पठाएको सुनाउँदै सोहीअनुसार नेकपा र यसको नेतृत्वमा रहेको सरकार खरो रूपमा उत्रिनुपर्नेमा जोड दिए ।
 
‘दुई तिहाईको सरकार बनेपछि जनतामा यो सरकारप्रति अपेक्षा बढ्नु स्वभाविक हो । हामीले जनताका चाहनाबमोजिम राम्रो काम गर्न सक्ने अवसर थियो । 
 
तर, हामीले जनताका अपेक्षा पूरा गर्नेगरि काम गरेनौं । विगतका सरकारभन्दा केही राम्रा काम त पक्कैपनि भएका छन् । तर, दुई तिहाईको सरकार हो यो, त्यो स्तरमा अझै काम भैरहेका छनैन् ।’–रायमाझीको गुनासो छ । अहिले पार्टी एकताका अधुरो कामपनि ओझेलमा परेको उनको गुनासो छ । 
 
मुलुक यतिवेला कोरोनाको महामारीविरुद्ध लडिरहेको, सिमा विवादमा सिंगो राष्ट्र एकजुट भएर लागिरहेको सुनाउँदै उनले यस्तो बेलामा बहस र छलफल अरु विषयमा केन्द्रित गर्नु दुःखद् भएको टिप्पणी गरे ।