मौसमः नदीनालामा पानीको बहाव बढ्ने, सावधानी अपनाउन आग्रह

आषाढ २२,२०७७

-

असार २२, २०७७ काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले अबको चार दिनपछि अर्थात शुक्रबारदेखि देशभरका नदीनालामा पानीको बहाव बढ्ने जनाएको छ ।
 
विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डाक्टर अर्चना श्रेष्ठका अनुसार मनसुन सक्रिय रहेकाले धेरैजसो ठाउँमा पानी पर्ने तथा कतै भारी वर्षा हुने देखिएको छ । असार २६ देखि २९ गतेसम्म धेरैजसो नदीमा पानीको बहाव सतर्कताको तह पार गरी खतराको तहसम्म पुग्नेछ ।
 
कन्काइ, कोशी, कमला, वाग्मती, नारायणी र यसका सहायक नदीमा पानीको बहाव बढ्ने विभागले जनाएको छ । यस्तै प्रदेश नम्बर १ र २, वाग्मती तथा त्यस आसपासका चुरे तथा तराईबाट बग्ने सबै नदीमा बहावले सतर्कता तह पार गरी केही ठाउँमा खतराको तहसम्म पुग्ने सम्भावना रहेको छ ।
 
विभागले पू्र्वसावधानी अपनाउन समेत आग्रह गरेको छ । त्यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सम्भावित जोखिम रोक्न पूर्वतयारीमा जुट्न अनुरोध गरेको छ । अहिले मनसुनमा आधारित पूर्वसूचना प्रणाली अपनाइएकाले सुरुमै कुन कुन क्षेत्रमा असर गर्न सक्छ भन्ने कुरा जानकारी दिन थालिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो । 
 
यसैबीच आज बाग्मती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । अहिले पनि यी ठाउँहरुमा पानी परिरहेको भए पनि दिउँसो रोकिने र बेलुका फेरि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनसार दिनभर घाम लाग्दै बादल लाग्ने क्रम चलिरहन्छ ।
 
अरु ठाउँमा भने आज दिनभर सामान्यतया बदली रहेर हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । रातिदेखि नै पानी परेका पहाडी भेगमा पहिरो र तराई तथा पानीको राम्रोसँग निकास नभएको ठाउँमा डुबानको जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।