कक्षा ११ को परीक्षा विद्यालय तहमै सञ्चालन र प्रमाणिकरण गर्ने सरकारको निर्णय

आषाढ २२,२०७७

-

असार २२, २०७७ काठमाडौं ।
सरकारले यस बर्ष कोभिड-१९ का कारण कक्षा ११ को परीक्षा विद्यालय तहमै सञ्चालन र प्रमाणिकरण गर्ने निर्णय गरेको छ । 
 
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम तथा विकास तथा मुल्यांकन परिषदको बैठकले कक्षा ११ को परीक्षा विद्यालय तहमै सञ्चालन, व्यवस्थापन र प्रमाणिकरण गर्ने गरेको हो । 
 
गत असार १९ गते बसेको परिषदको बैठकले यस्तो निर्णय गरेको शिक्षा मन्त्रालयले  सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 
त्यस्तै मन्त्रालयले उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरुको सिकाई निरन्तरताका लागि उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारुप २०७७ स्वीकृत गरी आवाश्क कार्याथ विश्व विद्यालय अनुदान आयोगमा पठाइसकेको पनि जनाएको छ । 
 
आयोगले पनि उक्त प्रारुपलाई निर्देशिकाको रुपमा विश्वविद्यालयले कार्यान्वयनको लागि जारी गरिसकेको मन्त्रालयले जनाएको छ । 
 
जुन प्रारुपले परम्परागत औपचारिक पद्धतिद्धारा सञ्चालन भइरहेका विश्वविद्यालय तथा उच्च शिक्षाका पठनपाठन, अनुसन्धान परीक्षा र मुल्यांकनका सम्बनधमा कोभिड १९ का कारण सिर्जित अवरोध हटाउन उपयुक्त सान्र्दभिक व्यवस्था गरेको जनाएको छ ।